काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएपछि निजी क्षेत्र उत्साहित देखिएको छ । केन्द्रीय बैंकले सेयर बजार, निर्माण व्यवसायी तथा बैंक तथा वित्तीय संस्थाका लागि ‘लचिलो नीति’ घोषणा गरेपछि लगानीकर्तामा उत्साह छाएको हो ।
मौद्रिक नीतिमा भएका परिवर्तन र संशोधित व्यवस्थाबाट सेयर लगानीकर्ता, निर्माण व्यवसायी र बैंकरले खुसी व्यक्त गरेका छन ।
मौद्रिक नीतिका अधिकांश व्यवस्था स्वागतयोग्य छन : चन्द्रप्रसाद ढकाल : अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
मौद्रिक नीतिका अधिकांश व्यवस्था स्वागतयोग्य छन । तर सर्कुलर कसरी आउँछ भन्ने हो । सरसर्ती हेर्दा निर्माण व्यवसायी, बैंक र ऋणीहरूलाई सहज हुने हिसाबले मौद्रिक नीति आएको देखिन्छ । निजी व्यवसायीहरूका केही मागहरू सम्बोधन भएको देखियो ।
निर्माण क्षेत्र विशेष प्राथमिकतामा परेको छ । यसलाई राम्रो मान्नु पर्छ । कर्जा विस्तार पनि अघिल्लो वर्ष ५–६ प्रतिशत हाराहारीमा मात्रै भएको थियो । अहिले साढे १२ प्रतिशतको लक्ष्य छ । मौद्रिक नीतिले अहिलेको स्थिति सहज बनाउन खोजेको देखिएको छ । अझ निर्देशनले अब स्पष्ट पार्ला । निजी क्षेत्रमा देखिएका सबै समस्या मौद्रिक नीतिबाट मात्रै समाधान नहोला । यद्यपि मौद्रिक नीतिममार्फत हुने सहजता भने हाम्रो अपेक्षा नै हो । यसकारण यो मौद्रिक नीति स्वागतयोग्य छ ।
अर्थतन्त्र र बैंकिङ क्षेत्रमा भएको समस्या पहिचान गरेको छ : सुनील केसी, अध्यक्ष, नेपाल बैंकर्स संघ
समग्रमा आवश्यकताको सम्बोधन भएको छ । विगत १ वर्ष, ६ महिनायता अर्थतन्त्रमा समस्या देखिएको छ । बजारमा माग घटेको छ । धेरैको आत्मविश्वास घटिरहेको छ । मौद्रिक नीति अलिकति खुल्ला रूपमा आएको छ । यसो हुँदा सबैलाई सकारात्मक सोच, मनोबल बढाउन मद्दत गर्ने देखेका छौं ।
यसले भोलिका दिनमा आर्थिक क्षेत्र चलायमान बनाउन बैंकिङलगायतका माध्यमबाट अघि बढ्न खोजिएको छ । बैंकिङ क्षेत्रमा अहिले मुख्यतः ३–४ ओटा समस्या छन् । तरलता घटबढ भइरहने, लगानीयोग्य पुँजी बढी भएको अवस्थामा कर्जावृद्धि भएको छैन । बैंकहरूको समग्र खराब कर्जाको आकार बढेको छ । अर्थतन्त्रमा आएको प्रभावका कारण बैंकको नाफा पनि लगातार घट्दै गएको छ । यस अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा भएको समस्या पहिचान गरेको देखिन्छ ।
सजगतापूर्वक लचक मौद्रिक नीति : कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचक मौद्रिक नीति ल्याएको छ । बैंकदर र नीतिगत दर घटाइएकोले ब्याजदर घटाउन सहजता हुनेछ । निर्माण व्यवसाय क्षेत्रलाई पुनःस्थापनाको लागि गरिएका व्यवस्थाहरू सराह्रनीय छन। ड्राफ्ट/टीटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी १ लाख कायम गर्ने व्यवस्था सकारात्मक छ ।
असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१ प्र्रतिशत कायम गरिनुपर्ने व्यवस्था सकारात्मक छ । घरजग्गा कारोबारमा ५० लाखभन्दा माथिको कर्जाको जोखिमभार शतप्रतिशत कायम गरिनुपर्ने एवं मूल्यांकनको सीमा ८०–२० को रेसियो कायम गरिनुपर्ने माग पूरा हुन सकेन ।
समस्या समाधान गर्ने गरी मौद्रिक नीति आएको छ : रवि सिंह, अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ
यो मौद्रिक नीति २०७८ सालमै आउनुपथ्र्यो । अहिलेका व्यवस्थाबारे उहिल्यै गभर्नरलाई भनेका थियौं । निर्माण क्षेत्रमा पुँजीको अभाव छ । पुँजी प्रवाह नगरी निर्माण क्षेत्र चलायमान हुन सक्दैन । यो क्षेत्र चलायमान गर्न कम्तीमा निर्माण व्यवसायीहरूको कर्जाको २० प्रतिशत थप गरिदिन भन्दै आएका थियौं। त्यतिबेला कसैले गम्भीरतापूर्वक नलिँदा यसको परिणाम निर्माण व्यवसायीले पुँजीको अभावमा काम गर्न सकेनन् । हामीले काम गर्न नसक्दा निर्माणसँग जोडिएका अरु उद्योग पनि धराशायी भयो र बेरोजगारी बढ्यो । अहिले ३ वर्षपछि भए पनि यस्ता समस्या समाधान गर्न मौद्रिक नीति ढिलै भए पनि आएको छ । अब यो नीतिपछिको निर्देशन, कार्यविधि कस्तो आउँछ भन्ने हो ।
३ वर्षमा पहिलो पटक सेयरबजारमैत्री मौद्रिक नीति आएको छ : राधा पोखरेल, अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ
यस वर्षको मौद्रिक नीति ३ वर्षमा पहिलो पटक सेयरबजारमैत्री आएको छ । अहिले लगानीकर्ताहरू उत्साहित छन् । हामीले दिएअनुसारका सबै सुझाव नसमेटिए पनि संस्थागत लगानीकर्ताहरूले लिने मार्जिन प्रकृतिको सेयर कर्जाको क्याप खुला गरिनु स्वागतयोग्य छ । यसो हुँदा दीर्घकालीन रूपमा चालु आवको मौद्रिक नीतिले राम्रै गर्छ । किनभने बजार घटबढ गराउन यसको भूमिका ठूलो रहन्छ । यसले गर्दा भोलिका दिन राम्रो हुने आशा गरिएको छ । यसै पनि नयाँ नेतृत्वको सरकार आएपछि सेयरबजार छाएकै छ । लगानीकर्ताले नयाँ नेतृत्वलाई स्वागत गरेकै थिए । नेप्से परिसूचकले देखाइसक्यो । अझ मौद्रिक नीतिले राम्रो गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्