काठमाडौं, १२ साउन । रोटरी क्लब अफ काठमाडौं वेष्टले दक्षिणकाली नगरपालिका–४ मा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लव र स्वच्छ खानेपानी उपभोक्ता समूहको संयुक्त आयोजनामा आज सेतिदेवी दक्षिणकाली–४ स्थित सातमुल मूहान संरक्षणका लागि १ सय थान विभिन्न जातका फूल तथा फलका विरुवा रोप्ने कार्य सम्पन्न भएको हो । क्लबका अध्यक्ष देशकुमार श्रेष्ठको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
वृक्षारोपणमा एभोकाडो, विभिन्न प्रजातीका फूलहरुलगायतका विभिन्न जातका विरुवाहरु रोपिएको थियो । वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले रोटरी क्लवले विश्वभर वृक्षारोपणलगायत सामाजिक काम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । श्रेष्ठले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन उपभोक्ता समतिले सहयोग गर्ने र त्यसले सार्थकता पाउने बताउनुभयो । क्लबले आफ्नो कार्ययोजना अनुसार नै वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।
रोटरी क्लब अफ काठमाडौं वेष्टलाई विशेष धन्यवाद दिँदै नगर प्रमुख बस्नेतले यस्ता प्रोजेक्टहरु सफलतापूर्वक अघि बढाउन नगरपालिकाको पूर्ण सहयोग गर्ने र आगामि दिनमा पनि सहकार्य गर्ने प्रतिबद्वता जनाउनुभयो । वृक्षारोपण कार्यक्रममा पालिका उपप्रमुख बसन्ती तामाङ डंगोलले बिरुवा रोप्न भन्दा जोगाउन चुनौतीपूर्ण रहेकाले वृक्षारोपण कार्यक्रम सँगसँगै यसको सरक्षणतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वातावरण संरक्षणका लागि वृक्षारोपण जस्तो पवित्र काममा क्लवले काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
उपभोक्ता समूहका सचिवले मन्तव्य व्यक्त गर्दै यस्ता सामाजिक काममा रोटरी क्लव सँधै अगाडि रहेको बताउनुभयो । उहाँले यस्ता कार्यका लागि निरन्तरता दिन र आफूहरुलाई क्लवको अझै सहयोगको अपेक्षासहित सद्भावका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष शारदा भक्त रञ्जितले क्लवले के–कस्ता सामाजिक कार्यहरु गर्छ, क्लवको परिचय र हालसम्म आफूहरुले गरेको विभिन्न गतिविधिहरूकोबारेमा प्रकाश पार्नुभएको थियो । उहाँले विशेषगरी शिक्षा र स्वाथ्यका क्षेत्रमा आफूहरुले काम गर्दै आएको पनि जानकारी दिनुभयो ।
यस्तै सफा र हरियाली शहर बनाउने उदेश्यका साथ वातावरण संरक्षणका लागि वृक्षारोपणको महत्व रहेकोले क्लबले वृक्षारोपण कार्यक्रम गरेको क्लवका सदस्य एवं सदस्यता समूहका अध्यक्ष रूपेश अधिकारीको भनाइ छ । अधिकारीले भन्नुभयो, ‘विरुवा हुर्कने अनुकूल समय पारेर क्लबले वृक्षारोपण कार्यक्रम गरेको छ, उपभोक्ता समूहले विरुवाको संरक्षण गर्ने हुँदा आफूहरु बेला–बेलामा गइराख्नुपर्ने अवस्था छैन, त्यसैले हुर्किनलाई समस्या हुँदैन ।’ वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी, पूर्व अध्यक्षहरू डा. अनिलबहादुर श्रेष्ठ, दिगबिजय विष्ट, किरणकृष्ण जोशी, रमेश मिलन श्रेष्ठ, शारदाभक्त रञ्जित, रोटरीयन सदस्यहरू, उपभोक्ता समूहका व्यक्तित्वहरुसहित, समाजसेवी, पत्रकार, स्थानीयवासीलगायतको उत्साहजनक उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्