जनता टाइम्स

१३ श्रावण २०८१, आईतवार ११:४२

सेयर बजारमा उछाल, दोस्रो पटक लाग्यो सर्किट ब्रेक


काठमाडौं, साउन १३ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।

दोस्रो सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ८.९ प्रतिशत बढेको छ । विकास बैंक ४, फाइनान्स २.३, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ३, लगानी ४.८, जीवन बीमा ४.१, उत्पादन ४.३, माइक्रोफाइनान्स २.८, अन्य ३.७ तथा व्यापार समूह ७.२ प्रतिशत बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।