जनता टाइम्स

१३ श्रावण २०८१, आईतवार २०:२८

उर्जा उत्पादनलाई इन्करेज गर्ने सोचका साथ हामी जानुपर्छ : अर्थमन्त्री पौडेल


काठमाडौं, साउन १३ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएका छन ।

आइतबार मन्त्रालयमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो । विद्युत उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बँचेको विद्युत निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको जानकारी पनि अर्थमन्त्री पौडेलले दिनुभयो । उहाँले उर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभइ इन्करेज गरेर अघि बढ्ने पनि बताउनु भयो ।

‘सरकारको पनि नीति र मेरो आफ्नो दृष्टिकोण पनि के हो भने हामीले उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ । अहिलेको सभ्यताको, जीवनस्तरको, ह्युमन डेभलपमेण्ट इण्डेक्सको मापन गर्ने एउटा महत्वपूर्ण आधार परक्यापिटा इनर्जी कन्जुम्सन कति छ भन्ने पनि होला । कति डलर कमाउँछ भनेको जस्तै कति बिजुली खपत गर्छ ? भनेर पनि हेरिन्छ । त्यो पनि बढाउनुपर्ने छ’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अर्को कुरा विद्युत उत्पादन गरी, अत्याधिक मात्रामा उपभोग गरेर बँचेको बिजुली बेच्ने हाम्रो नीति हो । त्यसैले बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौँ । अहिले पनि कहिले ल्याउनुपर्ने र कहिले बेच्नसक्ने अवस्थामा छौँ । उर्जा उत्पादनलाई इन्करेज गर्ने सोचका साथ नै हामी जानुपर्छ । आफ्नो मनोबल नटुटाउनुस् । मौद्रिक नीतिको बारेमा कुरा गर्नुछ, तपाईंहरु मौद्रिक नीति आएपछि भेट्नुहुन्छ ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उर्जा उत्पादकहरुलाई आफ्नो मनोबल बढाइ विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।