काठमाडौं, साउन १४ । राजस्व अनुसन्धान विभागले सुनको अवैध कारोबार गरेको अभियोगमा पाँच जनाबिरुद्ध मुद्दा दायर गरेको छ । बिभागले बिगो रकम र त्यसबापतको जरिवानासमेत ८ करोड १५ लाख १६ हजार असुल्नुपर्ने र तीन वर्षसम्म जेल सजाय तोकिनु पर्ने मागदाबीसहित ५ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।
विभागले एक भारतीय नागरिकसहित उनीहरुविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर गरेको हो । विभागका सूचना अधिकारी निर्देशक नवराज अधिकारीका अनुसार पोखरा बस्दै आएका भारत पश्चिम बंगाल मोदिनीपुर ग्रामका जय भैरव ज्वेलर्सका सरजित भौमिक, चितवन घर भई पोखरा महानगरपालिकामा व्यवसाय गर्दै आएका एस सगरमाथा ज्वेलर्सका सुरेन्द्र विश्वकर्मा रामदास, पोखरा–२७ का देवीरम्भा सुनचाँदी दोकानका प्रोप्राइटर जनकलाल लोहनी, पोखरा–९ मा बाराही ज्वेलर्सका प्रोपाइटर अर्जुन सुनार, पोखराकै लेखनाथ ज्वेलर्सका प्रोप्राइटर अर्जुनबहादुर कामीविरुद्ध राजस्व छलीको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
भारतीय नागरिक सुरजितमाथि जयभैरव सुनचाँदी पसल सञ्चालन गरेको अवैध कारोबार सञ्चालन गरेको अभियोग छ । सुरजित बाहेकका प्रतिवादीलाई भने बरामद भएको सुनलाई वैध बनाउन गहना बनाउने नाममा सरजितसँग मिलेमतो गरेको आरोप लागेको छ । उनीहरुले सुरजितले दिएको सुन सबै गहना बनाउने भन्दै अवैधलाई वैध बनाउन खोजेको प्ररम्भिक अनुसन्धानले देखाएको विभागको भनाई छ । विभागका अनुसार सुरजितबाट असुल्नुपर्ने ७ करोड ९ लाख रहेको छ भने उनलाई एकदेखि तीन वर्ष कैद सजाय हुनुपर्ने माग गरिएको छ ।
त्यस्तै सुरेन्द्रबाट ७६ लाख १६ हजार, जनकलालबाट ८ लाख ८० हजार, अर्जुन सुनारबाट १२ लाख ५५ हजार तथा अर्जुन कामीबाट ८ लाख ५९ हजार असुल्नुपर्ने माग गरिएको छ । उनीहरु चार जनालाई एक महिनादेखि ६ महिनासम्म कैद सजाय माग गरिएको बिभागले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्