जनता टाइम्स

२० श्रावण २०८१, आईतवार ०९:५९

ह्वात्तै बढ्यो झापामा सुपारी खेतीप्रतिको आकर्षण : दुई महिनामै दुई करोडका बिरुवा बिक्री


झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन । खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ ।

झापा, साउन २० । झापामा सुपारी खेतीप्रतिको आकर्षण ह्वात्तै बढेको छ । आकर्षणकै कारण दुई महिनाको अवधिमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन।

सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायीको भनाई छ । सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीका अनुसार जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको छ । ‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन । अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ,’ तिवारीले भन्नुभयो ।

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आउनुभएका ब्यवसायी नारायाण रिजालले पनि यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको जानकारी दिनुभयो । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उहाँको भनाई छ।

रिजालले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काउनु भएको थियो । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उहाँले बताउनु भयो । बिक्री भएका १० हजार बिरुवाबाट रिजालले १२ लाख रुपैयाँ आम्दानी गर्नुभएको छ ।
यहाँका नर्सरीहरुमा उत्पादित सुपारीका बिरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन् । नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन ।

किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा एक सयदेखि एक सय २० रुपैयाँसम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताउनु भयो । केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उहाँको भनाइ छ ।

झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन । खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ ।

नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमका अनुसार जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको छ । जोन अन्तर्गत सात सय ७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको छ । (तस्विर : चन्द्रकला भण्डारी/रासस)