जनता टाइम्स

२४ श्रावण २०८१, बिहीबार ०९:२५

बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने


काठमाडौं, २४ साउन । बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिनुभएको हो । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताउनुभएको छ । साथै उहाँले बंगलादेशमा ३/४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताउनुभएको छ ।

उहाँले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिलेर काम गरिरहेको समेत जानकारी दिनुभयो । उहाँले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफुले कुरा गरेको र उहाँको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रकृयामा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाह्बुद्दीनले संसदको भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुभएको थियो ।