जनता टाइम्स

२५ श्रावण २०८१, शुक्रबार १५:२२

बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर ‘मन्त्री’ बनेका २ विद्यार्थी को हुन् ?


ढाका, २५ साउन । बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ । गएराति नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उहाँको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले सपथ लिनुभएको छ । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नाम हो ।

उहाँहरु दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ । दुवै अहिले नयाँ सरकारमा सहभागी हुनुभएको छ । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित हुनुभएको छैन । तर उहाँको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उहाँको सल्लाहकार परिषदमा परेका सदस्य मन्त्रीको हैसियतमा रहनुहुनेछ ।

आउनुहोस, जानौं मन्त्री भएका दुई बिधार्थी नेताका बारेमा,

को हुन् नाहिद इस्लाम ?

नाहिद इस्लाम धेरै दिनदेखि बंगलादेशमा आरक्षण विरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनको मुख्य अनुहार हो । नाहिद एक बंगलादेशी विद्यार्थी कार्यकर्ता हो, उहाँ बंगलादेश कोटा सुधार आन्दोलनका प्रमुख नेताहरू मध्ये एक हुनुहुन्थ्यो । विद्यार्थीको यो आन्दोलन पछि असहयोग आन्दोलनमा परिणत भयो । यो आन्दोलन शेख हसिना सरकारको पतनको कारण बन्न पुग्यो ।

विद्यार्थी नेता नाहिदकै कारण आन्दोलन यति हिंसात्मक बनेको थियो भने शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । नाहिद पनि मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न मनाउने व्यक्ति हो । नाहिद इस्लामको जन्म सन् १९९८ मा ढाकामा भएको थियो । उहाँ ढाका विश्वविद्यालयबाट २०१–१७ ब्याचका समाजशास्त्रका विद्यार्थी हो । उहाँ मानवअधिकारकर्मी तथा विद्यार्थी संगठन ‘विभेद विरुद्ध विद्यार्थी’का संयोजक पनि हो । उहाँको बुबा शिक्षक र आमा गृहिणी हुनुहुन्छ । नाहिद विवाहित र एक कान्छो भाइ छन् ।

को हुन् आसिफ महमूद ?

बंगलादेशको अन्तरिम सरकारका सदस्य आसिफ महमूद विद्यार्थी आन्दोलनको अर्को ठूलो अनुहार हो । आसिफ भेदभाव विरोधी विद्यार्थी आन्दोलनका मुख्य संयोजक हो । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयको २०१७–१८ ब्याचका भाषा अध्ययनका विद्यार्थी हो । उहाँ जून महिनामा आरक्षण विरुद्धको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा सामेल हुनुभयो । आसिफ महमूद जम्मा २६ वर्षको हुनुहुन्छ ।

आसिफ महमूदले नख्खलपारा हुसेन अली हाई स्कूलबाट पढ्नुभएको थियो । २०१५ मा एसएससी पास गर्नुभउको उहाँले सन् २०१७ मा आदमजी क्यान्टोन्मेन्ट कलेजबाट एचएससी पास गर्नुभएको थियो । आसिफ कलेजको बीएनसीसी प्लाटुनका पूर्व क्याडेट सर्जेन्ट हुनुहुन्थ्यो । उहाँ ढाका विश्वविद्यालयको विद्यार्थी अधिकार परिषद्का अध्यक्ष पनि हुनुहुन्थ्यो ।

यी हुन बंगलादेशको अन्तरिम सरकारका १७ सदस्य

  1. डा. मोहम्मद युनुस
  2. डा सलेहुद्दीन अहमद
  3. ब्रिगेडियर जनरल (सेवानिवृत्त) एम सखावत हुसेन
  4. डा. एमडी नजरुल इस्लाम (आसिफ नजरुल)
  5. आदिलुर रहमान खान
  6. एएफ हसन आरिफ
  7. मोहम्मद तौहिद हुसेन
  8. सैयदा रिजवाना हसन
  9. सुप्रदीप चकमा
  10. फरिदा अख्तर
  11. विधान रञ्जन राई
  12. शर्मीन मुर्शिद
  13. एएफएम खालिद हुसेन
  14. फारुक ए आजम
  15. नूरजहाँ बेगम
  16. नाहिद इस्लाम
  17. आसिफ महमूद