काठमाडौं, साउन २७ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाउनु भएको छ । स्थायी समिति बैठकमा एक लिखित धारणा प्रस्तुत गर्दै शर्माले अध्यक्ष प्रचण्डमाथि गम्भीर आरोप लगाउनु भएको हो ।
उहाँले पद मोह र बिचारबाट च्यूत बनेर मूल नेतृत्व (अध्यक्ष प्रचण्ड) ले नै ’जनार्दनले पार्टी फुटाउँदै छ’ भन्ने हल्ला फैलाएर आपत्तिजनक हर्कत गरेको जिकिर गर्दै नेतृत्वमा बस्न अयोग्य बनिसकेको तर्क गर्नुभएको छ । मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू रहेको उल्लेख गर्दै उपमहासचिव शर्माले नेतृत्व ती प्रश्नको उत्तरहरू दिन नलागी ध्यान अर्कोतिर मोड्न लागिपरेको र पदका लागि जे पनि गर्ने चरम अवसरवादीमा पतित भएको निश्कर्ष सुनाउनु भएको छ ।
‘पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा’ शीर्षकमा लिखित धारणा राखेर शर्माले आफूविरुद्ध अध्यक्ष प्रचण्डले एकपछि अर्को प्रचारबाजी गरिरहेको बताउनु भएको छ । ‘अध्यक्ष प्रचण्ड नै सच्चिने अवस्थामा नरहेको र चरम अवसरवादीमा पतित भएको निश्कर्ष प्रभाकर (शर्मा) कमरेडको देखियो । उहाँले अध्यक्ष प्रचण्डमा सच्चिने र सुधारको कुनै संभावना नरहेको भन्दै हटनुपर्ने धारणा राख्नुभएको छ,’ जनताटाइम्स डटकमसँग माओवादी स्थायी कमिटीका एक सदस्यले भने । उनका अनुसार शर्माले माओवादीको यो तहको दुर्गती हुनुमा प्रचण्ड नै दोषी रहेको भन्दै अव नेतृत्वबाट हटेर पार्टीलाई अघि बढाउन सहयोग गर्न सुझाव दिनुभएको छ ।
‘नेतृत्व यतिसम्म आपराधिक बन्यो कि जनार्दन शर्मा एमालेमा जाँदैछ भनेर खुमलटारबाट (प्रचण्ड निवास) सुरु गरिएको प्रचारबाजीलाई प्रचण्ड प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि थप तीव्रता दिइयो । यो तहको गोयबल्स शैली आजसम्म कसैले गरेकै थिएन,’ शर्माका भनाई उधृत गर्दै ती सदस्यले जनताटाइम्स डटकमसँग भने । सो क्रममा शर्माले अध्यक्ष प्रचण्डतिर औला ठड्याएर हिसाव किताव यही गरौं भनेको जानकारीसमेत ती सदस्ले दिए ।
‘जनार्दनले पार्टी छाडदै छ, एमालेमा जाँदैछ भनेर गरिएको उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्व (प्रचण्ड) ले नै पार्टीलाई फुटतिर उन्मुख छ, कसलाई साथ दिने ? भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो’, शर्माको भनाई थियो । आफ्नो धारणा राख्ने क्रममा प्रचण्ड आफै गुटबन्दीमा लागेर पार्टीमा बिभाजनको रेखा कोर्ने र इमान्दार कार्यकर्तामाथि दोष थोपर्ने काम भएको जिकिर पनि गर्नुभयो । ‘देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आम आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ,’ शर्माको भनाई उधृत गर्दै अर्का सदस्यले भने ।
बैठकमा धारणा राख्ने क्रममा शर्माले पार्टी फुटको विषयमा देशभरबाट दैनिक सयौँले फोन गरेर फुटबारे सोध्ने गरेको सुनाउनु भयो । प्रचण्डको बदमासीका कारण यो कुरा अन्य राजनैतिक दल, सुरक्षा निकाय र ब्यूरोक्रेसीसमेतमा चासोको विषय बनेको भन्दै शर्माले यसमा स–साना अन्तर्विरोध समाधान गर्न झन ठूलो अन्तर्विरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको बताउनु भयो । शर्माले विभिन्न समयमा आफूले लिएको अडान र प्रश्नकै कारण आफूविरुद्ध अनेक हल्ला चलाइएको भन्दै अध्यक्ष प्रचण्डबिरुद्ध कठोर शब्द प्रयोग गर्नुभएको छ ।
शर्माले आठौँ महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त पारेको सम्बन्धमा पनि प्रश्न गर्नुभएको छ । यस्तै पार्टीलाई विधि र पद्धतिमा लैजाने सङ्कल्पको रूपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गरिएकोबारे त्यतिबेला पनि शर्माले प्रश्न गर्नुभएको थियो । प्रचण्डले आफ्नै सहयोगी र माओवादीकै हित चाहने नेताहरुमाथि अनेक षडयन्त्र गरेको पनि शर्माको आरोप छ ।
बाहिर भन्ने एउटा कुरा होला तर प्रचण्ड कमरेडकै सत्तामोहका कारण नेकपा फुटेको हो भन्ने सच्चाइ यहाँ बैठकमा बस्ने हामीलाई त छर्लंङ्गै छ त ! अस्ती एमालेसँग मिलेर प्रधानमन्त्री बन्ने बेला नेकपा बिभाजन हुनुमा मैरै गल्ती हो भनेर ओलीसँग कबुलियतनामा आफैले गरेको होइन ? किन अरुलाई दोष लगाको ?
‘सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन त कहिले वर्षमानविरुद्ध गरिएका दुश्प्रचारसम्बन्धी प्रश्न, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेको बारे प्रश्न, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन हैन फुटाउनको लागि गरिने मेहेनतबारेको विभिन्न समयमा प्रश्न गर्दा आफूविरुद्ध दुष्प्रचार गरियो,’ शर्माको भनाई थियो ।
यसैगरी उपमहासचिव शर्माले नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको, सरकारको गठबन्धन बारम्बार फेरिरहेकोबारे गरिएको प्रश्नमा पनि प्रचण्डले नरुचाएको बताउनु भयो ।
प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट फेरबदल गर्नेसम्मको हर्कत भएको भन्दै शर्माले कडा आक्रोश समेत पोख्नुभयो ।
‘पार्टीलाई बिधिसम्मत चलाउन प्रश्न गरियो तर त्यसबारे समीक्षा, स्पष्ट छलफल, आलोचना–आत्मालोचनातिर नलागी पार्टी फुट्दैछ भनेर आम पङ्क्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने, सांसदहरुले आफूविरुद्ध विरुद्ध हस्ताक्षर गरिसके भनेर अफवाह फैलाउने जस्ता गतिविधिले पार्टी र नेतृत्वलाई नै ठुलो क्षति पुर्याइरहेको छ । यो अपराधप्रति नेतृत्वले माफी माग्नुपर्छ,’ शर्माले बैठकमा भन्नुभयो । स्थायी कमिटी सदस्यहरुका अनुसार बैठकमा तथ्यसहित उत्रनुभएका उपमहासचिव शर्माले आफ्नो धारणा राख्ने क्रममा प्रचण्डकै पदीय मोहका कारण नेकपा बिभाजन भएको तथ्यलाई समेत बैठकमा राख्नुभएको छ ।
‘बाहिर भन्ने एउटा कुरा होला तर प्रचण्ड कमरेडकै सत्तामोहका कारण नेकपा फुटेको हो भन्ने सच्चाइ यहाँ बैठकमा बस्ने हामीलाई त छर्लंङ्गै छ त ! अस्ती एमालेसँग मिलेर प्रधानमन्त्री बन्ने बेला नेकपा बिभाजन हुनुमा मैरै गल्ती हो भनेर ओलीसँग कबुलियतनामा आफैले गरेको होइन ? किन अरुलाई दोष लगाको ?,’ बैठकमा शर्माको भनाई उधृत गर्दै ती सदस्यले भने ।
‘शंकाले लंका जलाउने, चियाको कपमा तुफान सृजना गर्ने भनेझैँ पार्टीलाई नै क्षति हुनेगरी सार्वजनिक रूपमा भ्रम सृजना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पङ्क्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ?’ लिखित धारणा राख्ने क्रममा शर्माले भन्नुभयो । यसैगरी उहाँले अव थप बेइमानीको फेरो नसमाउन पनि अध्यक्ष प्रचण्डलाई सचेत गराउनु भएको छ ।
बैठकमा आफ्नो धारणा राख्नेक्रममा शर्माले प्रचण्डबाट पार्टी चल्न नसक्ने निश्कर्षसहित बिदा गर्ने प्रस्ताव समेत राख्नुभएको छ । पार्टीको नयाँ नेतृत्वबारे शर्माले तीन वटा प्रस्ताव अघि सार्दै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमा प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव गर्नुभएको हो । ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठानिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माको प्रस्ताव उधृत गर्दै स्थायी समितिका अर्का सदस्यले जनताटाइम्स डटकमसँग भने ।
ती नेताका अनुसार शर्माले नेतृत्व अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव पनि शर्माको छ । यस्तै हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठानिक नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि गर्नुभएको छ ।
शर्माले लिखित धारणासमेत राख्दै भन्नुभएको छ, ‘२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । हामी शुन्यतर्फ उन्मुख छौं । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लख मतदाताको अभिमत अहिले खस्किरहेको छ । र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख,११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं । बिडम्बना के छ भने,आज पार्टीमा जो जति छन् ती सबै असन्तुष्टि बोकेर बाँचेका छन् । यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौं ?’
प्रतिक्रिया दिनुहोस्