जनता टाइम्स

२८ श्रावण २०८१, सोमबार १३:१४

प्रक्रिया छोट्याएर नेपालबाट केयरगिभर लैजाँदै इजरायल


काठमाडौं, साउन २८ । इजरायलले नेपालबाट सहायक कामदार (केयरगिभर) लाई छोटो प्रक्रिया अपनाएर लैजाने भएको छ । इजरायलले कामदार छनौट प्रक्रियालाई जति सकिन्छ छोटो बनाउन खोजेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागको इजरायल/जापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले इजरायलले छोटो प्रक्रियाबाट छनोट गर्न खोजेको बताउनु भयो । ‘जति सकिन्छ चाँडो कामदार लैजान खोजेको भन्दै त्यसका लागि इजरायलकै आग्रहमा छनोट प्रक्रिया अघि बढिरहेको छ,’ शाखाका निर्देशक ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीका अनुसार इजरायलका अधिकारीहरुले ‘जुम मिटिङबाट के–के गर्ने भनेर भनिरहेका छन । ‘पहिला भाषा परीक्षा थियो । अहिले त्यो चाही ब्रिटिस काउन्सिलबाट लिएको भाषा परीक्षालाई नै मान्यता दिएको छ । थप भाषा परीक्षा हुँदैन,’ शाखाका निर्देशक ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीका अनुसार विभागले आवश्यक कागजात परीक्षण गरेर तीन हजार ४६१ जनाको सूची इजरायलस्थित पीबालाई पठाएको थियो । उक्त सूचीमा रहेका नाममा पीबाले नेमचेक गर्ने र त्यसपछि सूची विभागलाई पठाउनेछ । विभागले त्यसका लागि साउन २१ गते नै उक्त सूचीका लागि विवरण पठाएको थियो ।

पीबाले नेमचेक पछिको सूची विभागलाई पठाउने र विभागले पछि लक्की ड्रका लागि पठाउनेछ । लक्की ड्र मार्फत पीबाले एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छनोट गर्नेछ ।

पीबाले लक्की ड्र मार्फत पठाएकाहरूको सूचीलाई नै विभागले अन्तिम मानेर स्वास्थ्य परीक्षणका लागि पठाउनेछ । त्यही सूचीलाई इजरायलीस्थित रोजगारदाता समक्ष पेस गरिनेछ ।रोजगारदाताले कामदार छनौट गरेपछि उनीहरूले नै भिसा शुल्क तिरिदिनेछन । त्यसपछि दूतावासमा गएर भिसा लगाउने र इजरायल जानका लागि उडान तालिका तय गर्ने कार्यतालिका रहेको बिभागले जानकारी दिएको छ ।

बिभागका अनुसार यी सबै प्रक्रिया पूरा गरेर सेप्टेम्बरको अन्तिमसम्ममा कामदार लैजाने चाहना इजरायलको रहेको छ । यसअघि अघिल्लो पटक भने उचाइ तथा तौल परीक्षणसँगै लिखित परीक्षा तथा अन्तर्वार्ता समेत गरिएको थियो । यस पटक भने उचाइ तथा तौल परीक्षण स्वास्थ्य परीक्षणकै समयमा हुने ज्ञवालीले बताउनु भयो ।

विभागले गत असार ११ गते इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउन (केयरगिभर) आवेदन माग गरेको थियो । जसमा चार हजार २४ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन हजार ४६१ जनाको आवेदन मात्रै एप्रभु भएको र ५६३ जनाको आवेदन रिजेक्ट भएको बिभागले जनाएको छ ।