जनता टाइम्स

३१ श्रावण २०८१, बिहीबार १६:२५

नेपाल बैंकमा सर्वसाधारणलाई ऋण दिनेबारे योजना बनाइरहेको छ : विवेक शमशेर


रौतहट ३१ साउन । नेपाल बैंक लिमिटेडका सञ्चालक समिति सदस्य विवेक शमशेर जबराले सर्वसाधारण मानिसलाई पनि ऋण कर्जा दिनेबारे छलफल भईरहेको बताउनुभएको छ । कारोवार भएकालाई मात्र कर्जा प्रवाह गरिने सर्वसाधारण मानिसलाई नपाउने गुनासो बढेको कारण बैंक सञ्चालक समितिमा छलफल संगै कर्जा प्रवाह गर्नेबारे योजना बनाइरहेको जबराले स्पष्ट पार्नुभएको छ । रौतहटको कटहरिया स्थित नेपाल बैंक लिमिटेडले बिहीवार आयोजना गरिएको उद्घाटन समारोहका प्रमुख अतिथि जबराले नवनिर्मित भवनको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको छ ।

रौतहटको तत्कालीन पुरेनवा गाविसमा जन्मेको र ३८ बर्ष पछि प्रमुख अतिथिको रुपमा आएर बोल्न पाउँदा अत्यन्तै खुसी लागेको उहाँको भनाई थियो । नेपाल बैंक जनताकै बैंक भएकाले यसलाई अगाडी बढाउने जिम्मा पनी जनताकै रहेको जबराले बताउनुभएको छ । नेपाल बैंक र बाणिज्य बैंक बाट कर्जा लिएर समयमा चुक्ता नगरेकै कारण २० बर्ष अघि झण्डै बन्द हुने अवस्थामा पुगेको चर्चा गर्दै अब पुनः त्यस्तो अवस्थामा न आउन दिन हामी सबैको दायित्व रहेको जबराले बताउनुभएको छ । यी दुई बैंक यदी कुनै कारणले बन्द हुन्छ भने त्यसको असर सरकारसँगै सबै माथि पर्ने उहाँले चेतावनी दिनुभयो ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले देशभरिमा बैंकको २१९ शाखा र २०५ एटीएम सञ्चालनमा रहेको बताउनुभएको छ । उहाँले बैंकमा ६१ प्रतिशत सरकारको तथा ३९ प्रतिशत जनताको लगानी रहेको बताउँदै अहिले आधुनिक बैंकिङ सेवा दिइरहेको नेपाल बैंकमा जनताको २५० करोड रकम जम्मा रहेको जानकारी दिनुभएको थियो । कुनै परियोजनाको लागी कर्जा लिनुपर्दा सानो लगानीमा शाखाले १५ दिन भित्र र ठूलो लगानीमा केन्द्र बाट १ महिना भित्र स्वीकृति हुनुपर्ने स्पष्ट पार्नुभएको थियो ।

नेपाल बैंकका मधेश प्रदेश प्रमुख प्रदीप पाठकले प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने लक्ष्यका साथ संचालित बैंकमा स्थानिय प्रबंधक, कर्मचारीले कुनै प्रकारले अनावश्यक आर्थिक लाभ लिन खोजेमा, बदमासी गरी हैरान गर्न खोजेमा सीधा आफूहरु लाई सम्पर्क गर्न ग्राहकसंग अनुरोध गर्नुभएको थियो । गलत नियत राखेर काम गरेको जानकारी आएमा त्यस्ता कर्मचारीलाई नियमानुसार कडा कारवाहीको चेतावनी दिनुभएको थियो ।

उद्घाटन कार्यक्रममा न्युज कारखानाकर्मी सञ्जय मिश्रा, कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाह, क्याम्पस प्रमुख गजेन्द्र यादव, ब्यापारीहरु योगेन्द्र साह, नसरुदिन अन्सारी, महाशक्ति निराला, सरोज यादवलगायतकाले द्वन्दकालमा बिस्थापित बैंक लाई पुनः स्थापित गराउन जिल्लामा कैयौँ पटक आन्दोलन गर्नुपरेको तथा पटक–पटक काठमाडौंसम्म धाउनु परेको जिकिर गर्नुभएको थियो । कटहरियामै बैंक सञ्चालन हुँदा घरमै बसीबसी सम्पूर्ण सेवा पाएको बताउँदै बिगतमा केही कर्मचारीले बिना कमिसन कर्जा लगानी नगरेको गुनासो गर्नुभएको थियो ।

जिल्लाको चर्चीत बजार कटहरियामा नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवन पाएको छ । २०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ बर्ष पछि गत आईतवारदेखी आफ्नै भवनमा सञ्चालनमा आएपनि औपचारिक रूपमा आज उदघाटन भएको छ । बैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड ६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो । टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक आनन्द कुमार यादवले बताएका छन् ।

२०८० फागुन १४ भित्र भवन निर्माण अवधी रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोवार सञ्चालन गरिएको प्रबंधक यादवले जानकारी दिएका छन। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो । तत्कालिन विद्रोही माओबादी र सरकार बीच सशस्त्र द्वन्द हुँदा २०६१ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो । केहि समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछी नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो ।

देशका अबस्था सामान्य हुँदा १० बर्ष पछि २०७१ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ । हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन । कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा, आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन । भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ ।