काठमाडौं, ३१ साउन । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिनुभएको हो ।
समिति सभापतिमा निर्वाचित भइसकेपछि कार्यभार सम्हाल्नुअघि सभामुखसँग शपथ लिनुपर्ने प्रावधान छ ।
शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गरेका थिए । न्यौपाने नेपाली कांग्रेस र गैरे एमाले सांसद हो । शपथ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रमुख सचेतक र मुख्य सचेतकलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्