अन्जनीकुमार अधिकारी/गाइघाट । उदयपुरको कटारी नगरपालिकामा भाँडभैलो मच्चिएको छ ।
कटारी नगरपालिकाले यस आर्थिक बर्ष २०८१/०८२ का लागि नगरको नीति कार्यक्रम तथा बजेट असार १० गतेमै ल्याउनु पर्ने भएपनि आन्तरिक श्रोत वापतको राजस्व नगर प्रमुखले मनोमानी खर्च गरेको भन्दै झन्डै ६६ प्रतिशत नगर सभा सदस्यले बिरोध जनाएपछि नगरको तेह्रौ नगर सभा अनिर्णयको बन्दी बनेको छ ।
लामो बिवादका कारण रोकिएको कटारी नगरपालिकाको तेह्रौं नगर सभा यही साउन २७ गते सुरु भएको भएपनि नगरसभालाई नै छलेर नगर प्रमुखले गत आर्थिक बर्षको खर्च अनुमोदन गराउन खोजेपछि सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐनअनुसार बिधिर पद्धतिमा बसेर नगर सभा सम्पन्न गर्न माग गरेका थिए । सो मागपछि नगरको तेह्रौं नगर सभा अनिर्णयको बन्दी बनेको हो ।
साउन २७ गते नगर सभा सञ्चालन भईरहदा नगरसभाका सदस्यहरुले आफनो जिज्ञासा राख्ने क्रममा कटारी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को खर्च अनुमोदन गराउने शिर्षकमा कार्यपालिकाले अनुमोदन नगराउने भन्ने निर्णय भइसकेको वन तथा खानी रोयल्टीबाट प्राप्त राजश्वको खर्चसमेत समावेश गरी बजेट ल्याएपछि सभाका सदस्यहरुले यस विषयमा जिज्ञासा राखेका थिए । तर सो प्रश्नको जवाफ नै नदिई, नगर प्रमुखले गैरजिम्मेवर तरिकाले कुनै पनि विषयहरुमा छलफल नै नगराइ नगरसभा सम्पन्न भएको घोषणा गरेकोले नगर सभाका सदस्यहरु झनै वन तथा खानी रोयल्टीबाट प्राप्त राजस्वमा अनियमितता भएको निश्कर्षमा पुगेका छन भने अहिले नगरपालिका अशान्त बनेको छ ।
साउन २७ गते बसेको कटारी नगरपालिकाको तेह्रौ नगर सभाले आर्थिक बर्ष २०८१/०८२ का लागि नगरको नीति कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनु भयो । रत ७६ सदस्यीय नगर सभामा सदस्यमध्ये ५२ सदस्यले आफुहरुको प्रश्नको उत्तर नै नदिइ नगर उपप्रमुखलाई आर्थिक बर्ष २०८१/०८२ को बजेट निर्णयार्थ पेश गर्ने अवसर नै नदिएको भन्दै आपत्ति जनाएका छन । उनीहरुले पुनः सभा बसेर बाँकी रहेका बिषय टुंग्याउने सहमति भएको भएपनि सोमबार सभामा प्रमुख प्रशासकीय अधिकृत विनोद भटट्राई सम्पर्कमा नआएपछि नगर सभामा के गर्ने भन्नेमा अन्यौल भएको थियो ।
नगर प्रमुखले समेत उपस्थित जनाउन नमानेपछि नगरपालिकाको उपप्रमुखको उपस्थितिमा ७६ सदस्य नगर सभाका सदस्य मध्ये ५२ जना सदस्यहरुले माइन्युट गरी आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम तथा बजेट पास गरेको नगर उपप्रमुख गीता खड्काले बताउनु भयो ।
उहाले भन्नुभयो, ‘आइतबारको सभामा उपस्थितिमा मात्र हस्ताक्षर गरेका थियौं । त्यो बैठक पुस्तिकासहित प्रमुख प्रशासकीय अधिकृत सम्पर्क विहिन भएपछि नगरसभालाई पुर्णता दिन सोमबार सभालाई निरन्तरता दिदै कुल ८६ करोड ८१ लाख ६४ हजार आठ सय त्रिचालिस रुपैया अनुमानित बजेट, निति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८१ पास गर्ने साथै टिप्पणि आदेश बाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार हाललाई पास नगर्ने सहित महत्वपुर्ण निर्णय गर्दै नगरसभालाई पुर्णता दिएका छौं ।’ उपप्रमुख खड्काले २८ गते प्रमुखसमेत उपस्थित नभएकाले कार्यन्वयनका लागि नगर प्रमुखलाई अनुरोध गरेको बताउनु भयो ।
कटारी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकामा संघीय सरकारबाट प्राप्त गरेको खानी तथा वन रोयल्टी बापतको राजश्व नगर प्रमुखले मनोमानी ढंगले आफु खुशी खर्च गरेपछि बिवाद भएको हो । नगरको १२औं (अघिल्लो बर्ष) नगरसभामा खानी तथा वन रोयल्टी बापतको राजस्वको अनुमान नगरीएको र उक्त राजस्व आर्थिक बर्षको विचमा प्राप्त आम्दानीलाई कार्यपालिकामा जानकारी समेत नगराई टिप्पणि आदेशका भरमा खर्च गरेकोले कार्यपालिका सदस्यहरुले यस विषयमा विरोध जनाउदै आएको समेत नगर उपप्रमुख गीता खड्काले बताउनु भयो ।
आर्थिक बर्ष २०८०/८१ को बजेट नगरसभाबाट पारित भई योजनाहरु सञ्चालन भैरहेको अवस्थामा नगरसभाले अनुमान गरेको राजश्व भन्दा फरक शिर्षकबाट (वन रोयल्टि र खनिज तथा खानी रोयल्टी) प्राप्त १ करोड ७६ लाख ५८ हजार रुपैयाँ प्राप्त भयकोमा उक्त वजेट कार्यपालिका बैठक वा नगरसभामा प्रस्तुत नगरी २०८१ वैशाख १० गते नगरपालिकाको योजना शाखाका सवइन्जिनियर ओमबहादुर मिश्रले टिप्पणि उठाएको प्रमुख प्रशासकीय अधिकृतले निर्णयार्थ पेश गरेको र नगर प्रमुखले सदर गरी कार्यन्वयन गरेको देखियो,’ उपमेयर खडकाले भन्नुभयो ।
उक्त कार्य स्थानीय सरकार संञ्चालन ऐन २०७४ विपरित भएको कार्यपालिका सदस्य तथा वडा नं २ का वडा अध्यक्ष प्रेम थापाको भनाई छ । उहाँभन्नु हुन्छ, ‘योजना शाखामा अन्य सिनियर कर्मचारी हुँदाहँुदै तल्लो तहको प्राविधिकबाट टिप्पणि उठाउनु, बैशाख ११ गतेनै कार्यपालिकाको वैठक बसेकोमा उक्त टिप्पणिको विषयमा बैठकमा जानकारी नगराउनु र २०८१ वैशाख २१ गतेको नगर सभामा समेत यो विषय अनुमोदनको लागि पेश नगर्नुले यस विषयमा आफुहरुको असहमति रहेको छ ।’ आन्तरिक स्रोत वापतको राजस्व लुकाएर अहिले उक्त विषय घुमाउरो पारामा सभाबाट पास गराउन कोषिश गरे पछि तेह्रौं नगर सभा भाँडिएको हो ।
यसैबीच यो विषययमा साउन १६ गतेको कार्यपालिका बैठकमा उक्त विषय अनुमोदन नगर्ने र बाँकि विषयहरुमा नगरसभा सम्पन्न गर्ने सहमति भए अनुसार नगरसभा बोलाईको भए पनि नगरसभामा आ.व. २०८०/०८१ को सम्पुर्ण व्यय अनुमोदन गर्ने भन्ने उल्लेख गरेर घुमाउरो पारामा पास गराउने कोषिस गरिकोले पनि कार्यपालिकाका सदस्यहरुले यस विषयमा प्रश्न उठाएका हुन । नगर सभा सम्पन्न भएको भन्दै प्रमुख प्रसाशकीय अधिकृत बैठक पुस्तिका बोकेर सभाबाट निस्किएको र सम्पर्कविहिन भएको कार्यपालिका सदश्य तथा वडा नंं ११ का वडा अध्यक्ष अनन्त हायुले बताउनु भयो ।
उहाले भन्नुभयो, ‘हामीले कार्यपालिका बैठकमै यो विषय अनुमोदन नगर्ने निर्णय गरेका थियौ, तर सभामा घुमाउरो पारमा ढोका हुँदाहुँदै जस्केला बाट यो विषय छिराएर अनुमोदन गराउने प्रयास गरियो, सुरुमा हामी सबै अन्यौलमा पर्यो । पछि यो १ करोड ७६ लाख ५८ हजार समेत सम्पुर्ण खर्च अनुमोदन गर्ने शिर्षकमा ल्यायको हो भनी सभाका सदश्यहरुले प्रस्न उठाए पछि नगर प्रमुखले जवाफ नै नदिई सभा सम्पन्न भएको घोषणा गर्नुभयो । निर्णयनै नलेखी प्रमुख प्रशासकीय अधिकृत बैठक पुस्तिका बोकेर सम्पर्क विहिन हुनुभयो ।’
सभामा उठेका प्रश्नको जवाफ नदिई तथा सभामा कुनै पनि विषयमा दफावार छलफल नगरी समापन भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएपछि नगर प्रमुखले सोमबार ९ बजे बस्ने गरी नगर सभा स्थगित गरेको जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।
कटारी नगरपालिकाका नगर सभाका बहुमत सदस्यहरुले टिप्पणि आदेशबाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार रुपैँयालाइ अनुमोदन नगरी तत्काल आ.व. २०८१÷०८२ को निति तथा कार्यक्रम तथा बजेट पास गरेर अघि बढ्नु पर्ने र उक्त रकमका बिषयमा छानबिन गर्नुपर्ने माग राख्दै अएका छन । उनीहरुले नगरपालिका स्थानीय सरकार संञ्चालन ऐन २०७४ विपरित कसैको मनेमानी तरिकाबाट सञ्चाल गर्न नदिने बटमलाइन समेत सुनाएका छन ।
यसैबीच कटारी नगरपालिकाले टिप्पणि आदेशबाट खर्च भएको १ करोड ७६ लाख ५८ हजारको समस्या समाधान गर्न नगरको विनियोजन विधेयक २०८१ को बुँदा नं. ४ पछि थप गरिएको पाइएको छ । यसअघि नगरपालिकाले असार १३ गते नगरको वेबसाइटमा राखेको विनियोजन विधेयक २०८१ को बुँदा नं. ३ सम्म मात्र रहेकोमा पछी बुँदा नं. ४ थप गरी ‘अनुसूची १ मा उल्लेख भएभन्दा बढी वा अन्य कुनै स्रोतबाट थप आम्दानी प्राप्त हुन आएमा योजना तथा कार्यक्रम विनियोजन गर्ने अधिकार नगर प्रमुखलाई हुनेछ । त्यसरी विनियोजन रकम नगर कार्यपालिकाको कार्यालयले नियमानुसार खर्च गर्नेछ’ भन्ने लेखिएको छ । यसले पनि नगर प्रमुखको गैरजिम्मेवार कार्यको उजागर भएको वडा नंं ११ का अध्यक्ष अनन्त हायुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्