जनता टाइम्स

१ भाद्र २०८१, शनिबार १३:०५

षड्यन्त्रपुर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्याइयो : प्रचण्ड


काठमाडौं, १ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपुर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गर्नुभएको छ । आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमुलक तरिकाले मध्यरातमा हटाइएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमुलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिइ गर्ने जमर्को गरियो ।’ अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिदा विजेताका रुपमा बाहिरिएको बताउदै अब आफुहरु जनतामा जान चुनौती र अवसर रहेको बताउनुभयो । उहाँले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरेपनि जनताले बुझिरहे पनि आफ्नै संगठन भित्रका नेताले नबुझेको गुनासो गर्नुभयो ।

प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुननिर्माणको गति अगाडि बढाउन खोजिएको बताउनुभयो । अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले जनार्दन शर्माले पार्टी फुटाउने आशंका निराधार भएको बताउदै स्थायी कमिटी बैठकबाट पार्टी फुटाउन खोजेको आशंका मेटिएको बताउनुभयो । उहाँले शर्माले बैठकमा उठाएका केही गम्भीर, व्यवहारिक र आशंका रहेको बताउँदै व्यवहारिक आशंकाका विषयमा अनुसन्धान हुने स्पष्ट गर्नुभयो ।