काठमाडौं, भदौ २। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने निष्कर्ष सुनाउनु भएको छ ।
नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक प्रबन्धलाई मानेर नै समाज अघि बढ्ने बताउनुभयो । ‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ’, उहाँले भन्नुभयो ।
नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । संवैधानिक व्यवस्थालाई प्रभाकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउनेतर्फ ध्यान जानुपर्नेमा उहाले जोड दिनुभयो । उहाँले स्वतन्त्रता भनेको छाडापन नभएको प्रष्ट पार्नुभयो ।
‘स्वतन्त्रताको हक भनेको बेलगाम र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
लोकतन्त्र भनेको जनताको शासन भएको बताउँदै प्रधानमन्त्री ओलीले यो छाडा हुन नसक्ने बताउनुभयो । कसैको सनकका भरमा शासन सञ्चालन नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘लोकतन्त्र एउटा अनुशासित समाज हो’, उहाँले भन्नुभयो ।
कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान बनाउन खोज्ने र जसले योगदान गरेका छन, तिनीहरूलाई बदनाम र अपमान गरेर सिद्ध्याउन खोज्ने प्रयास भएका भन्दै प्रधानमन्त्री ओलीले त्यो कुरा बुझ्न जरुरी रहेको बताउनुभयो ।
यी सवै षडयन्त्र चिरेर लोकतान्त्रिक, सभ्य र गतिशील समाज निर्माणको दिशामा अघि बढ्न प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गर्नुभयो ।
अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्न बनेको बताउनुभयो ।
कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम यो सरकारबाट नहुने बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पार्नुभयो । ‘हामी कसैको विरुद्ध छैनौँ, तर कसैले पनि कसैका विरुद्ध बेठिक गर्न पाइँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकाले खेल क्षेत्रको महत्त्व बुझेको बताउँदै आफ्नो गच्छे अनुसार खेल क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभयो । त्यसैले क्रिकेट रङ्गशालाका काम ३ सय दिन भित्रै सक्ने घोषणा गरेर सरकारले काम गरिरहेको ओलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्