काठमाडौं, भदौ २ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव सूर्यबहादुर खत्रीलाई पठाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ सरुवा भई आउने सहसचिवलाई जिम्मेवारी तोक्ने क्रममा आइतबार खत्रीलाई बैदेशिक रोजगार बिभागको महानिर्देशकको जिम्मेवारी तोकेको हो । मन्त्रालयले मातहतका सहसचिवको जिम्मेवारी हेरफेरसमेत गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले खत्रीलाई गृह मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा गरेको थियो । विभागमा खत्रीलाई पठाइएसँगै विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई मन्त्रालयमा तानिएको छ । उनलाई मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाको प्रमुखको दिइएको छ ।
यसअघि मन्त्रालयमा रहदाँ पनि घिमिरेले यसै महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । यस्तै सहसचिव प्रदीप कोइरालालाई श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
श्रम मन्त्रालयबाट सहसचिव मदन दाहाल, दिपक नेपाल र रामकृष्ण लामिछाने सरुवा भएसँगै उहाँहरूको ठाउँमा आएका सहसचिवको जिम्मेवारी दिइएको हो । दाहाल अर्थ मन्त्रालय, नेपाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, लामिछाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सरुवा भइसकेका छन् ।













प्रतिक्रिया दिनुहोस्