जनता टाइम्स

४ भाद्र २०८१, मंगलवार १७:२३

एमाले महासचिव पोखरेलले खुलासा गरे प्रचण्डले त्यो गम्भीर गल्ती


काठमाडौं, भदौं ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै बाधक बनेर खडा भएको तथ्य खोल्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा एमाले महासचिव पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नको लागि प्रचण्डले नमानेको खुलासा गर्नुभएको हो ।

कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहमतिपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग भेटेर प्रस्ताव गरेको तर अस्वीकार गरेको बताउनु भयो ।

‘देउवासँगको सहमतिपछि पार्टी अध्यक्षले प्रचण्डसँगको भेटमा तीन दलबीचको सहकार्यको प्रस्ताव राख्दा प्रचण्डले मान्नुभएन, उहाँकै जिद्धिले राष्ट्रिय समहतीको सरकार बनाउने प्रयाश सफल बन्न नसकेको यथार्थ हो, यो सच्चाइलाई म तपाईहरुको बीचमा राख्न चाहन्छु,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले माओवादीलाई सहमत गराउनकै लागि दुई दलबीच सहमति भएको बिषयलाई बाहिर नल्याइएको जानकारी दिनुभयो । ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सहमति भएपछि हामीले त्यसलाई तत्काल बाहिर नल्याउने समझदारी गर्यौं । त्यस्को उदेश्य भनेकै प्रचण्डजीलाई पनि साथमा लिएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्य थियो,’ अर्को दिन बिहानै केपी ओली प्रचण्डलाई भेट्न बालुवाटार जानुभएको थियो । तर, सहकार्य सम्भव भएन । त्यसपछि जे सहमति भयो त्यसलाई संसदमा प्रस्तुत गर्ने स्थिति बन्यो ।’

उहाँले ओलीको प्रस्ताव प्रचण्डले मानेको भए तीन दलबीचको सहमतिको सरकार बनिसक्ने खुलासा पनि उहाँले गर्नुभयो । ‘प्रचण्डजी तयार भएको भए दुई पार्टीको सहमति तीन पार्टीबीचको सहमतिका रुपमा बदलिन्थ्यो । एउटा नयाँ यात्रा सुरु हुन्थ्यो । त्यो दृष्टिकोणका साथ सहकार्यको आरम्भ गरेका थियौं भन्ने सच्चाइलाई पनि बुझ्नुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।