रौतहट, ४ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिनुभएको छ । रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिनुभएको हो । विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उहाँँले बताउनुभयो ।
‘मधेसको बिद्यालयमा बिद्यार्थीको चाप बढी छ । तर विधार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन । विधार्थीको अनुपातमा यहाँ बिषयगत र तहगत शिक्षकको व्यवस्था गराउँन सरकारको हामीले पटक–पटक ध्यानाकर्षण गरायौं तर सरकार गम्भिर छैन्’ आजपा अध्यक्ष साहले भन्नुभयो,‘अब यस्तै हुने र यसैगरी चल्ने अवस्था भएन् । हामी चुप लागेर बस्दैनौं । सरकारले यथासिघ्र विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन्छौं ।’
हिजोको विरासत मधेसको राम्रो भएको र अरुलाई शिक्षा दिने मधेस आज किन पछाडी पर्यो भन्ने प्रश्न गर्दै साहले मधेस मानव विकास सूचांकमा पछाडी पार्ने काम सिंहदरबारमा बसेर लुटमचाउँनेले गरेको आरोप लगाउनुभयो । मधेसवादी दलका नेताहरु लुटतन्त्रको व्यापारमा लागेको र सिंहदरबारले मधेसलाई समृद्ध बनाउँन नचाहेको बताउँदै साहले अब शैक्षिक आम हड्तालको बिकल्प नभएको बताउनुभयो ।
शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन । मधेसको शिक्षाप्रति चिन्तित रहनुभएको साहले विगतदेखी नै मधेसको बिकास, समृद्धि, सचेतनाको बारेमा चासो राख्दै आउनुभएको छ ।
राज्यको कुदृष्टिले मधेस कुरुप बनेको र मधेसवादी दलका भ्रष्ट चरित्रका कारण मधेस बदनाम भएको बताउँदै मधेसको बिकास, समृद्धिका लागि यहीका युवाहरु अग्रमोर्चामा आउँनुपर्ने बताउनुभयो । शिक्षकको व्यवस्था गर, विधार्थीलाई गुणस्तरीय शिक्षा देउ भन्ने सुझाव दिदा समेत सरकारले नसुन्ने र मनपरी गर्ने कामले आम जनता दुखित भएको बताउँदै उहाँले सरकारलाई सडकबाटै जवाफ दिनुपर्ने समय आईसकेको बताउनुभयो ।
मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै रौतहटको मौलापुरकी मेयर रिना कुमारी साहले केही समय पहिला शिक्षा मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । सिंहदरबारमै पुगेर मेयर साहले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदा समेत अहिले सम्म मन्त्रालयले केही नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साह बताउनुभयो । आजपाको स्थानीय नेता सैतूलाहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पुर्वसांसद मा सामिना हुसेन, महासचिव त्रिभुवन साह, स्थाई कमिटी सदस्यहरु लालबाबु मंसूरी, नरेश तुराहा, चन्देश्वर बैठा, लखिन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्