जनता टाइम्स

४ भाद्र २०८१, मंगलवार २२:४०

प्रचण्ड-माधवलाई देउवाको जवाफ : कांग्रेस-एमाले सहमति देशलाई अघि बढाउन हो, बीचैमा टुटदैन


काठमाडौं, भदौ ४ । सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशलाई अघि बढाउनका लागि दुई ठूला दलबीच भएको सहमति भएको जनाउँदै निर्धारित लक्ष्य पूरा गर्ने बिषयमा दुविधा वा भ्रम नपाल्न सवैलाई प्रष्ट पार्नुभएको छ ।

कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनु भएको हो ।

उहाँले बहुलवादका आधारमा लोकतान्त्रिक समाजवाद उन्मुख संविधान बनेकाले त्यसलाई सफल बनाउन पनि दुई ठूला दलबीच सहमति भएको प्रष्ट पार्नुभयो । स्वर्गीय गिरीको भावनालाई सम्मान गर्न पनि संविधान संशोधन गरिनुपर्नेमा सभापति देउवाको जोड थियो । संविधान कार्यान्वयनका क्रममा आएका समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्ने बिषयमा आफूहरु प्रष्ट रहेको देउवाले बताउनु भयो ।

‘देशलाई अघि बढाउने सोच विचार गरीकन दुई दलबीच सहमति भएको हो, यो सहमतिलाई कुनै दल विशेषले आफ्नाविरुद्ध भएको भनी बुझ्नु गलत हुनेछ,’ सभापति देउवाले भन्नुभयो, ‘दुई ठूला दलबीच भएको सहमति लुकाएका छैनौं, यसलाई लिखित रुपमै सार्वजनिक गरेका छौं ।’ सभापति देउवाले दुई ठूला दलले निश्चित योजना बनाएरै सहकार्य गरेको भन्दै बीचैमा टुटने वा काम अधुरो नछाडनेपनि प्रष्ट पार्नुभयो ।