जनता टाइम्स

४ भाद्र २०८१, मंगलवार २३:०७

‘रविसँग नाम जोडिएपछि मेरो जिन्दगी बर्वाद भयो’


काठमाडौं, भदौ ५ । सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङले रास्वपाका सभापति रबि लामिछानेसँग नाम जोडिएपछि आफू बर्वाद बनेको बताउनु भएको छ ।

एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी छानविन संसदीय समितिमा बयान दिन पुग्नुभएकी गुरुङले यस्तो बताउनु भएको हो । गुरुङ सहकारी ठगी प्रकरणमा जेलमा रहनुभएको छ ।

समितिमा बयान दिने क्रममा सुप्रिम सहकारीका कर्मचारी गुरुङले आफूलाई व्यवस्थापकले फसाएको बताउनु भयो । ‘डकुमेन्ट बिनै रवि लामिछानेको नाममा चेक साट्नाले आफ्नो जिन्दगी नै बरबाद भयो,’ बयानमा गुरुङले भन्नुभएको छ, ‘रविको केसमा जोडिएपछि मेरो जिन्दगी डामाडोल भएको छ । मेरो जिन्दगी बिग्रियो ।’

उहाँले बयानको क्रममा आफूले सहकारीका ब्यवस्थापकले अह्राएको काम गर्दा फसेको बताउनु भएको छ । ‘रविको नाममा डकुमेन्ट नहुँदा पनि भौचर कसरी साट्ने भनेर मैले भने । तर मलाई व्यवस्थापकले जे अह्राएको छ, त्यो गरेर ल्याउनु भनेपछि म कामदारको हैसियतमा चेक साट्न गएको हो‚’ गुरुङको भनाई उद्धृत गर्दै समितिका एक सदस्यले भने ।

बयानकै क्रममा आँसु झर्दै डाँको छाडेर रुनुभएकी गुरुङले एक वर्षदेखि आफू तलब नपाएको र जागिरविहीन भएको दुखेसो समेत गर्नुभएको छ ।