काठमाडौं, भदौ ८ । सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा सांसद रवि लामिछानेसँग मध्यरातीसम्म १० घण्टा बयान लिएको छ ।
समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे सुरु भएको लामिछानेसँगको बयान राति १ बजेसम्म चलेको थियो । समितिले लामिछानेसँग ५१ वटा प्रश्न सोधेको थियो । समितिले तयार पारेका प्रश्नमा सहकारीको व्यक्तिगत तथा संस्थागत ठगीमा लामिछाने संलग्न भएको पुष्टि गर्ने धेरै तथ्यहरु समावेश रहेका थिए ।
बयानमा समितिका सदस्यहरूले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ मूल प्रश्न सोधेका छन ।लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्य आफूमा नरहेको जिकिर गर्नुभएको छ ।
रकम, मिति, कैफियत र कानुनको विवरणसहित सोधिएका प्रश्नमा लामिछानेले ‘थाहा छैन, जानकारीमा छैन, मेरो भन्नु केही छैन, हुँदै होइन, होइन, संलग्न छैन, हो र ?, जानकारीमा छैन’ भन्ने जवाफ दिएर ढाँटनु भएपछि सदस्यहरूले पटक पटक पूरक प्रश्न सोधेका थिए । सदस्यहरूले लामिछानेको नाममा रकम जम्मा भएको भौचर, सीआईबीको अनुसन्धान, बुटवल प्रहरीको प्रतिवेदन र पोखरा महानगरपालिकाको प्रतिवेदन देखाउँदै पूरक प्रश्नहरू सोधेका थिए ।
समितिका एक सदस्यले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार धेरैजसो प्रश्नमा लामिछाने जिम्मेवारीबाट उम्कन खोज्नुभएको छ । तर, तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्न भने स्विकार गर्न बाध्य हुनुभएको छ । यसअघि बयानका लागि जेलबाट बोलाइएका अभियुक्तहरूले सहकारीहरूबाट गोर्खा मिडियामा रकम ल्याउँदा लामिछाने पनि संलग्न रहेको र उहाँको व्यक्तिगत खातामा पैसा आएको बयान दिएका थिए ।
हाल पुर्पक्षका लागि पोखरा जेलमा रहेका गोर्खा मिडिया सञ्चालक रहेका कुमार रम्तेल, सुप्रिम सहकारीबाट लामिछानेका तर्फबाट रकम जम्मा गरिदिने रोशनी गुरुङ र अर्का कर्मचारी भवीश्वर अर्यालले पनि सहकारी ठगीमा लामिछाने संलग्न रहेको बयान दिनुभएको छ ।
एमाले साँसद सूर्य थापा संयोजक रहेको छानविन समितिमा बयानको क्रममा रोशनीले त रविसँग नाम जोडिएपछि आफ्नो जीवन बर्वाद बनेको भन्दै डाँको छाडेर रुनुभएको थियो ।
रबिलाई सदस्यहरुको प्रश्न थियो, ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको कर्जा तथा पेस्की रकमहरू तपाईं पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछानेकै नाममा जारी भएको हो र सहकारीमा कायम भएको सदस्यतासमेत तपाईंकै भएको भनी भवीश्वर अर्याल, रोशनी गुरुङ, कुमार रम्तेलसमेतले खुलाउनुभएको देखिन्छ ।
तपाईंको नाममा कर्जा खडा भई गोर्खा मिडिया नेटवर्क प्रालि.मा रकम गएको देखिन्छ । गोर्खा मिडियामा तपाईंबाहेक अर्को रवि लामिछाने पनि रहेको देखिँदैन । तपाईंले अस्वीकार गर्न मिल्छ ?’ यो प्रश्नमा पनि रविले थाह छैन भनेर पन्छनु भएको छ ।
करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको करिब ९६ करोड रुपैयाँ गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडियामा सारिएको थियो । ८० करोड रुपैयाँ सार्दा लामिछाने प्रबन्ध निर्देशक थिए । समितिले सहकारी छानबिन प्रकरणमा सबैभन्दा लामो बयान लामिछानेसँग लिइएको छ ।
लामिछानेले आफैंले दिएको जवाफ फर्केर रुजु गर्न करिब दुई घण्टा लागेको थियो, नेपाली कागजमा उतारिएको बयानका हरेक पृष्ठमा लामिछानेको हस्ताक्षर र औंठा छाप पनि लिइएको छ ।
समितिका सदस्यहरूले राप्रपाकी सांसद गीता बस्नेतले नवलपुरको कावासोतीमा रहेको छिपछिपेसहित तीनवटा सरकारीबाट साढे पाँच करोडभन्दा बढी रकम निजी कम्पनीमा लगेको आरोपमा पक्राउ गरी मुद्दा चलाउँदा तपाईं आफैं गृहमन्त्री हुनुहुन्थ्यो, अब त्यस्तै प्रकरणमा तपाईंमाथि कारबाही किन नहुने भन्ने प्रश्नसमेत लामिछानेलाई गरेका थिए ।
सांसद बस्नेत प्रत्यक्ष आर्थिक कारोबारमा संलग्न रहेकाले उनीमाथि कानुनी दायित्व आकर्षित हुने भए पनि आफू प्रबन्ध निर्देशक रहे पनि आर्थिक कारोबारमा संलग्न नभएकाले त्यो कानुन लागू हुन नसक्ने जिकिर रबिको थियो ।
गोर्खा मिडिया नेटवर्कमा आफूले ‘स्वेट सेयर’ मात्रै पाएको र कम्पनीको सम्पूर्ण आर्थिक कारोबार र खर्चको स्रोत व्यवस्थापन जुटाउने काम अध्यक्ष जीबी राईले गरेको जवाफ उहाँको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा आफैंले हस्ताक्षरसहित पेस गरेको कागजातमा २०७८ वैशाख ५ मा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक बन्नुभएको थियो ।
कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएको कागजअनुसार उहाँले कम्पनीमा लगानीका लागि बुझाएको पैसा सहकारीबाट सिधै ‘ट्रान्सफर’ भएर कम्पनीमा आएको छ ।
सहकारीको पैसा कम्पनीमा ल्याएर लगानीमा गणना गर्न पाइन्छ भनेर पनि सदस्यहरूले उहाँलाई सोधेका थिए । यो विषयमा पनि लामिछानेले जीबी राईलाई नै दोष दिएर आफूलाई थाह छैन भन्दै सिधै ढाटनुभएको छ । बयानको क्रममा रविले सहकारीको एक पैसा पनि आफ्नो पेटमा नपरेको जिकिर गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्