काठमाडौं, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताउनुभएको छ ।
युथ कनक्लेभ २०२४ मा आज बोल्दै उहाँले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एक जना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन । डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ । त्यो रुल अहिले मैले सरकारको बनाएको छु । महिलाहरुको लागि थुप्रै काम गरेको छु ।’
महिला प्रधानमन्त्री बनाउन चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार काम गर्नकै लागि बनेको बताउँदै देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यले आफू प्रधानमन्त्री बनेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिलको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । फरक पर्दैन, भर पर्नुपर्छ यो सरकारसँग । किनभने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यक्ता थिएन ।’
प्रतिक्रिया दिनुहोस्