मोरङ, भदौ ८ं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व चयन प्रक्रियामा पारदर्शिता कायम गर्न प्रत्यक्ष निर्वाचित अध्यक्षको प्रणाली अबलम्बन गर्न लागिएको प्रष्ट पार्नुभएको छ । उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ साधारण सभामा आज बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनु भएको हो ।
उहाँले महासंघको अध्यक्ष पदमा प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने योजना बनिरहेको र केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रुपमा बिधान संशोधन प्रस्ताव पारित भएको जानकारी दिनुभयो । यसबाट नेतृत्व चयनमा सदस्यहरूको सिधा सहभागिता सुनिश्चित हुने उहाँको भनाइ छ । अध्यक्ष ढकालले यसले महासंघको संस्थागत सुधार र सशक्तीकरणमा सहयोग पुग्ने धारणा पनि राख्नुभयो ।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई साँघुरो बनाउनु नहुने बताउँदै यसलाई विकासको महत्त्वपूर्ण अङ्गको रूपमा हेरिनुपर्ने बताउनुभयो । निजी क्षेत्रको दायरा विस्तार गर्न प्रोत्साहन दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारी कानुन र नीतिले निजी क्षेत्रलाई सीमित गर्नुभन्दा पनि सहयोगी वातावरण प्रदान गर्नुपर्ने धारणा पनि अध्यक्ष ढकालले राख्नुभयो । ‘निजी क्षेत्रको विकासमा सकारात्मक सन्देश दिन सके केही गरौँ भन्नेलाई हौसला मिल्छ,’ अध्यक्ष ढकालले भन्नुभयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष हेमराज ढकाल, कोशी प्रदेश अध्यक्ष राजेन्द्र दाहाल, केन्द्रीय सदस्य तथा घरेलु उद्योगका सभापति नरेन्द्र खड्का, कोशी प्रदेशका सांसद उमाकान्त गौतमसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, उर्लाबारी नगर प्रमुख गङ्गाप्रसाद खरेलले अहिलेको अवस्थामा सरकार र नीति क्षेत्रले गर्नुपर्ने सुधारका कामको बिषयमा आफ्नो सुझाव राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्