काठमाडौं, भदौ ११ । सोह्रौं संस्करणको नाडा अटो शो २०२४ आजदेखि सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो को उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज एक कार्यक्रमबीच उदघाटन गर्नुभयो ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष आजदेखि भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीहरुको दशैं भएको बताउनु भयो ।
चौधरीले १ खर्ब बढी लगानी रहेको अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो पनि गर्नुभएको छ । अटो क्षेत्रका लागि स्थिर नीति ल्याएर सहयोग गर्न सरकारसँग आग्रह गर्दै अध्यक्ष चौधरीले कार्यक्रममा उपस्थित अर्थमन्त्री पौडेल समक्ष अटोमोबाईल्स व्यवसायीलाई नेपालमै बस्न मिल्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरि १३० वटा स्टल रहने छन भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने नाडाले जनाएको छ ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहने छन् भने अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहनेछ । नाडा अटो शोमा १३० स्टलहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्