जनता टाइम्स

११ भाद्र २०८१, मंगलवार १५:३९

सेयर बजार भारी अंकले गिरावट, नेप्से परिसूचक १११.९६ अंकले घट्यो


काठमाडौं, भदौ ११ । सेयर बजारमा आज मंगलबार भारी अंकले गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा मंगलवार नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ ।

मंगलवार कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको हो । अघिल्लो दिन १९ अर्ब ७४ करोडको कारोबार भएको थियो ।

कारोबार सुरु हुँदा केही सेकेण्ड बजार हरियो देखिए पनि दिनभर बजारमा बिक्रीकर्ता आत्तिएर बस्नुपरेको छ । जसले गर्दा खरिदकर्ताले चाहेकै मूल्यमा उनीहरूले बिक्री गर्दै गएका छन । मंगलवार शेयर बजारमा २० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटेको छ ।

यस्तै बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटेका छन ।

तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य भने १० प्रतिशत बढेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.८, कर्णाली विकास बैंकको ९.४, विन नेपाल लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । रिडी पावरको ८.५, नेसनल हाइड्रोपावरको ७.६, शिवश्री हाइड्रोपावरको ७.४ तथा घलेम्दी हाइड्रोपावरको ७.४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर, नेपाल फाइनान्स र निफ्रा क्रमशः अगाडि रहेका छन ।