जनता टाइम्स

११ भाद्र २०८१, मंगलवार १७:५८

नीजि क्षेत्रलाई अर्थमन्त्री पौडेलको आग्रह : मन्त्रीहरुलाई भाषणमा समय ब्यतित गर्न होइन, काम गर्न दिनोस


काठमाडौं, भदौ ११ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई भाषणमा समय व्यतित गर्नु भन्दा काम गर्न दबाब दिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

नाडा अटो शो २०२४ को मंगलबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै उपप्रधानमन्त्री पौडेलले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको बताउनुभयो । मन्त्रीले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा बोलाउनु भन्दा काम गर्ने वातावरण बनाइदिन उहाँले आग्रह गर्नुभयो ।

’मन्त्रीलाई एउटा अप्ठेरो हुँदो रहेछ, काम गर्ने कि भाषण गर्ने ? अहिले मन्त्रीहरुलाई भाषण नभई काम गरेर समयको उपयोग गर्नुपर्छ भन्ने लाग्छ, तर के निजी क्षेत्रका छाता संगठनहरु छन । उहाँहरुले महत्वका साथ बोलाउनुहुन्छ, नआउँ यथोचित आधार मर्यादा भएन भन्ने लाग्छ, आउँ समय भाषण गर्नमा व्यतित हुन्छ, त्यसकारण अर्थमन्त्रीले सुन्नैपर्ने, गर्नैपर्ने र आउनै पर्ने बाहेकका काम गर, भाषण कम गर भनी सहजिकरण गरिदिनहुन सादर अनुरोध गर्दछु,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै अर्थमन्त्री पौडेलले कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन निजी क्षेत्रलाई सुझाव दिनुभयो । नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको अर्थमन्त्री पौडेलले बताउनु भयो । दुई ठूला दलसहितको वर्तमान सरकारले नीतिगत स्थिरताको आधार दिएको उहाँले बताउनु भयो ।

’अहिले बनेको सरकार संसद्ले बनाउने सबैभन्दा स्थिर सरकार हो, यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ, त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमाण्ड छ, सरकारले जायज भन्छ, यो सरकार सबै नेपालीको हो, अनुकूल नीति निर्माण र सहयोग गर्न तयार छ, तपाइँहरु भयमुक्त भइ अघि बढ्नुहोस,’ अर्थमन्त्रीले भन्नुभयो ।