जनता टाइम्स

११ भाद्र २०८१, मंगलवार १८:३७

रोष्टमबाटै रघु पन्तले फर्काए प्रचण्डलाई जवाफ : जता सत्ता उतै प्रचण्ड भनेर स्थापित गर्ने तपाईं स्वयं होइन र ?


काठमाडौं, भदौ ११ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, प्रचण्डलाई निर्मम प्रश्नसहित जस्ताको तस्तै जवाफ फर्काउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका बिपक्षी दलका नेता दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनमाथि आरोपको बर्षा गरेपछि सांसद पन्तले आफ्नो अनुहार ऐनामा हेरेर ब्यवहारतिर ध्यान दिन चेतावनी दिनुभयो ।

उहाँले बिपक्षी दलको नेता आफूलाई नचाहिए माओवादीकै सांसद जनार्दन शर्मालाई दिन दाहाललाई चुनौती दिनुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका सांसद पन्तले प्रमुख प्रतिपक्षी दलको नेता पद संवैधानिक भएको र पहिलो र दोस्रो दल मिलेर सरकार बनाएपछि तेस्रो दलले स्वतः पाउने बताउनु भयो ।

‘संविधान त पढनुहोस, प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, खोजेर पाउने पद होइन । हामीले खोजेर पनि पाउने पद होइन । तपाईंलाई पनि दिएको होइन । तपाईंको दललाई दिएको हो,’ सांसद पन्तले भन्नुभयो, ‘दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो दल प्रमुख प्रतिपक्षीमा स्वतः भएको हो । मन लाग्दैन भने तपाईंकै छेऊमा जनार्दनजी हुनुहुन्छ दिनुस न उहाँलाई ! चाहिँदैन हामीलाई । नभए अर्को दलको नेतालाई दिनुस । पटक पटक प्रधानमन्त्री भएको मान्छेलाई यति ज्ञान त हुनुपर्यो नि !’

मंगलबारको प्रतिनिधि सभामा माओवादी अध्यक्ष दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिन अनेक तर्कवितर्क गरिएको भन्दै प्रमुख प्रतिपक्षी दलको नेता पनि सत्तापक्षलाई आफै राख्न भन्नुभएको थियो । त्यस्को जवाफमा सांसद पन्तले जवाफ फर्काउनु भएको हो।

‘प्रमुख प्रतिपक्षी दलको नेता हुने अनि यो पद पनि लैजाऊ भन्ने, प्रधानमन्त्री पद गएकोमा तपाईंलाई यति धेरै औडाहा र छटपटी किन ? चाहिँदैन सत्ता भन्नुहुन्छ । घरी यता, घरी उता गरेर यो संसदभित्र जता सत्ता उतै प्रचण्ड भनेर स्थापित गर्ने को हो ? तपाईं स्वयं होइन र ? तपाईंकै कारणले मुलुकमा अस्थिरता उत्पन्न भयो । तपाईंकै कारणले राजनीतिक दलका नेताहरूको विश्वसनीयता कमजोर भयो। त्यसैले आफूतिर फर्किएर हेर्नुस,’ एमाले सांसद पन्तले भन्नुभयो । उहाँले हुँदै नभएको आरोप लगाउने र बर्बराउने काम नगर्न पनि सुझाव दिनुभयो ।