जनता टाइम्स

१३ भाद्र २०८१, बिहीबार ०७:४८

अर्थ मन्त्रालयले गर्यो आन्तरिक राजस्व र भन्सारका ५८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, भदौ १३ । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत प्रमुख कर अधिकृत र निर्देशकसहित ५८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले आन्तरिक राजश्व विभाग, भन्सार विभाग, आन्तरिक राजश्व कार्यालय तथा मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार तातोपानी, जलेश्वर र कैलाली भन्सार कार्यालयका प्रमुखहरु फेरिएका छन् । काठमाडौं उपत्यकासहित मुलुकका आन्तरिक राजस्व कार्यालयका २३ जना प्रमुख फेरिएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका गरी तीन जना प्रमुख भन्सार अधिकृतको सरुवा गरिएको छ । पछिल्लो समय चीनसँगको व्यापार सहजीकरण गरेर राजस्व संकलन उल्लेख्य वृद्धि गराएका तातोपानी भन्सार प्रमुख दयानन्द केसीलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ ।

तातोपानीमा अर्थबाट उपसचिव कमल कुमार भट्टराईलाई पठाइएको छ । त्यस्तै, कैलाली भन्सारका राजेन्द्र कुमार हमाललाई भन्सार विभाग र जलेश्वर भन्सारका अमित पौडेललाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । उक्त भन्सारमा प्रमुख पठाइएको छैन ।

कर र भन्सारका १० जना उपसचिवलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ भने आन्तरिक राजस्व विभाग लाजिम्पाटमा १२ जना उपसचिवलाई निर्देशकको रुपमा पठाइएको छ । आन्तरिक राजस्व कार्यालय इटहरी र भैरहवाका कर अधिकृतहरु शान्तिराम निरौला र अुर्जनकुमार न्यौपानेलाई विमानस्थल भन्सार कार्यालय सरुवा गरिएको छ ।

विभानस्थलबाट सरुवा भएका प्रमुख भन्सार अधिकृतहरु गगनबहादुर बिकेलाई कोटेश्वर कर कार्यालय र श्रीधर टण्डनलाई दाङको कर अधिकृतमा सरुवा गरिएको छ । लामो समयदेखि भन्सार विभागमा निर्देशको भूमिकामा रहेका पुण्य विक्रम खड्कालाई आन्तरिक राजस्व कार्यालय भरतपुरको प्रमुखमा सरुवा गरिएको छ ।

कर अधिकृत कोटेश्वरका गणेशप्रसाद अर्याल र कर अधिकृत जनकपुरका किशोर गर्तौलालाई भन्सार विभागको निर्देशकमा सरुवा गरिएको छ । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय भैरहवाका प्रमुख टिकाराम गैरेलाई बुटवल कर प्रमुखमा सरुवा गरिएको छ । गौतमबुद्धमा नयाँ प्रमुख तोकिएको छैन ।