जनता टाइम्स

१३ भाद्र २०८१, बिहीबार १४:४७

मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माण अघि बढाउने सहमति जुट्यो


सिन्धुपाल्चोक, भदौ १३ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माण अघि बढाउने सहमति जुटेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का,विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सरकोरवाला र आयोजनाबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो ।

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध रहेको थियो ।

२२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन । उक्त दुई किलोमिटरमा पर्ने प्रशारण लाइनको मार्गधिकारमा १२४ जना जग्गाधनीको जग्गा पर्दछ ।

छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । यस्तै आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाईजस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रशारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरुको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

यसैगरी, प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपलिका–५ जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना र सबस्टेसन निरीक्षण गर्न आइग्नु भएका ऊर्जा मन्त्री खड्काले दुई महिनाभित्र मध्यभोटेकोशीबाट विद्युत उत्पादन सुरु गर्न निर्देशन दिनुभएको थियो ।

खड्काले आयोजनाले विद्युत् उत्पादन सुरु गरी प्रसारण लाइनमा जोड्न ढिलाइ गर्न नहुने सरकारको बटमलाइनसमेत सुनाउनु भएको थियो । मध्यभोटेशीको विद्युत प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।