बागलुङ, भदौ १३ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।
माधव नेपाल र जनताले अस्वीकार गरी नेकपा एकीकृत समाजवादी अव अगाडि जानै नसक्ने अवस्थामा पुगेको र माधव नेपालमा बिद्रोहको चेत होइन, अवसरवादीको कुण्ठाको पोको रहेको प्रमाणित भएपछि आफूहरु नेकपा एमालेमै समाहित भएको हो ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चलिरहेको बेला केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापासहित सिंगै जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र प्रदेशमा रहेका जिल्लाका नेता–कार्यकर्ताहरु सवै एमालेमा समाहित हुनुभएको हो ।
एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङ, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मासहितका नेताहरुले आज आयोजित कार्यक्रममा नेकपा एसका नेता–कार्यकर्तालाई पार्टीमा समाहित गर्नुभयो ।
कार्यक्रममा एमालेकी बागलुङ इञ्चार्ज मन केसी, जिल्ला अध्यक्ष हिराबहादुर केसी, सचिव गणेशबहादुर थापा मगर तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शर्मा, अध्यक्ष थापा र सचिव भरत पुरीले संयुक्त हस्ताक्षर गरी जिल्ला कमिटी समाहित भएको घोषणा गर्नुभयो ।
एमाले अध्यक्ष केसीका अनुसार कार्यक्रममा नेकपा एसका जिल्लाका सवै नेता–कार्यकर्ताहरु सहित सवै तहका कमिटी एमालेमा समाहित भएको हो । एमालेमा समाहित भएपछि कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले बिद्रोह भनिए पनि माधव नेपालसहितका नेताहरु एमालेमा आफूले चाहेको भाग नपाएर मात्रै बिभाजनतिर लागेको प्रमाणित भएकोले जिल्लाका सवै एमालेमै समाहित हुनुपरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्