जनता टाइम्स

१४ भाद्र २०८१, शुक्रबार १८:३१

दुई जना निर्दाेष बालबालिकाको ज्यान लिने गरी पाँचथरमा विस्फोट भएको बम माओवादी युद्धकालकै रहेको पुष्टि


काठमाडौं, भदौ १४ । दुई जना निर्दाेष बालबालिकाको ज्यान लिने गरी पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँको एक घरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको भएको पाइएको छ ।

बिहीबार नेकपा माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा भएको बिष्फोटमा परी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी पिन्साको निधन भएको थियो । सो घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन बम विस्फोटबाट घाइते भएका थिए ।

माओवादी कार्यकर्ताको घर नजिकै बम विस्फोट भएको घटनाले विस्फोट भएको बम द्वन्द्वकालीन विस्फोटक पदार्थकै एक हिस्सा रहेको आशंकासहित प्रहरीले माथिल्लो तहमा ब्रिफिङ गरेको थियो । गृहमन्त्री रमेश लेखकले आज गृह मन्त्रालयमा पत्रकारहरुसँग पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको प्रष्ट पार्नुभयो ।

‘ग्रिनेड पड्कियो । अत्यन्त दुःखद घटना भयो । आज मात्रै प्रहरीसँग लामो कुराकानी भयो । यो कसरी पड्कियो भनेर सोधेको थिएँ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामीलाई प्राप्त जानकारीअनुसार यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको छ ।’

उहाँले थप्नुभयो, ‘भर्खर संक्रमणकालीन न्यायको कुरा टुंग्यायौं, शान्ति प्रक्रियाका बाँकी काम टुंग्यायौं भनेकोमा द्वन्द्वकालीन बम विस्फोटबाट बालबालिकाको मृत्यु हुनु दुःखद घटना हो । ‘अहिलेपनि सशस्त्र द्वन्द्वको पीडा जिवित छ, अहिले पनि बम पड्केर दुःखद घटना भएका छन् ।’ उहाँले अर्को बम पनि झाडीमा फेला परेको र त्यसलाई नेपाली सेनाले निष्क्रिय बनाएको जानकारी दिनुभएको छ ।