जनता टाइम्स

१५ भाद्र २०८१, शनिबार १५:१३

गृहजिल्लाबाट अर्थमन्त्री पौडेलको अपील : विकासको काममा सत्तापक्ष र प्रतिपक्ष भन्नु हुन्न


बूटवल, भदौ १५ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासको काममा सत्तापक्ष र प्रतिपक्ष भन्न नहुने बताउनु भएको छ ।

बुटवलमा बन्न लागेको १ हजार २ सय शय्याको प्रादेशिक अस्पताल भवनको शिलान्यास गर्दै पौडेलले विकासको काम सबै मिलेर गर्नुपर्ने बताउनुभयो । विकास निर्माणको काममा सत्ता पक्ष प्रतिपक्ष सँगसँगै हिँड्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

‘विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष भन्न हुन्न,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले अस्पतालको काम समयमै सक्न निर्देशन दिनुभयो ।  तर छिटो काम सक्ने नाममा गुणस्तरमा भने सम्झौता हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले अस्पताल निर्माण र व्यवस्थापनको काममा संघीय सरकारले सबै खालका सहयोग गर्ने बचन दिनुभयो । अस्पताल भवन निर्माणको जनस्तरबाट नियमित निगरानी हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

सो अस्पताल लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलको ठुलो पूर्वाधार भएकाले गुणस्तरीय काम गराउन जनस्तरबाट निगरानी हुनुपर्नेमा उहाँको जोड छ ।  ६ अर्ब १८ करोड ७५ लाख रुपैँयाको लागतको यो अस्पताल भवन बन्न लागेको हो ।

भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई उहाँले सुझाव दिनुभयो । त्यसको लागि अहिलेबाटै योजना बनाएर काम थाल्न उहाँले आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले छिटो काम सक्ने नाममा गुणस्तरहीन काम हुन नदिन नागरिक समाज, मिडिया, स्थानीय र प्रदेश सरकार सबैले निगरानी बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

‘६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतको यो अस्पताल भवन बुटवलकै ठूलो गेमचेन्जर आयोजना हो,यसको गुणस्तरमा कुनै प्रश्न आउनु हुँन्न,’ निर्माण कम्पनलाई इंगित गर्दै पौडेलले भन्नुभयो, ‘छिटो काम सक्ने नाममा गुणस्तरमा सम्झौता गर्न पाइँदैन, निर्धारित समयभित्र तोेकेको गुणस्तरमा कम्प्रोमाइज नगरी काम गर्नुहोला ।’

उनले अस्पतालको भवन निर्माण सँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रकृया पनि बेलैमा थालेर भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एक साथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

‘भवन मात्र निर्माण गरेर हुँदैन, जनशक्ति व्यवस्थापनका लागि पनि ओएनएम प्रकृया सँगै थालेर भवन बनेलगत्तै सबै सेवा सञ्चालन गर्ने गरी अहिल्यैबाट काममा लाग्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ, संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।’

१२ सय शैय्याको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने धारणा पनि सुनाउनु भयो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका अर्थमन्त्री पौडेलले आफू राजनीतिभन्दा माथि उठेर सत्ता पक्ष र प्रतिपक्ष नभनी सबैसँग हातेमालो गरेर रुपन्देहीलाई विकासमा नमूना बनाउन चाहेको बताउनु भयो ।