जनता टाइम्स

१८ भाद्र २०८१, मंगलवार १९:२७

सय दिन पूरा नगर्दै सरकारमाथि घेराबन्दीको प्रयास भएको भन्दै प्रतिवाद गर्न एमाले नेतालाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौं, भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन पनि पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै त्यसलाई चिर्न पार्टी नेताहरूलाई निर्देशन दिनुभएको छ । आजबाट सुरु भएको एमाले पोलिटब्युरो बैठकमा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

‘सरकारले सय दिन पुरा नगर्दै घेराबन्दी गर्ने प्रयास भइरहको छ,’ बैठकमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै एक सदस्यले भने, ‘सबै घेराबन्दी तोड्दै एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित रहेको छ । यसमा सरकार र पार्टीको तर्फबाट पहल गर्न जरुरी छ ।’

प्रधानमन्त्री ओलीले सरकारलाई घेराबन्दी गर्ने प्रयास भए पनि सचेततापूर्वक काम गरिरहेको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने प्रष्ट भयो । एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने प्रष्ट पार्नुभयो । ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ । यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ बैठकमा अध्यक्ष ओलीको भनाइ थियो ।

बैठकमा ओलीले सरकार बनेपछि जनतामा आसा पलाएको बताउनु भयो । ‘यो सरकार बनेदेखि सर्वसाधारणमा विश्वास बढेको छ । दुई दलबीच भएको सहमति अनुसार सरकार आफ्नो काममा प्रतिबद्ध छ,’ अध्यक्ष ओलीको भनाई थियो । एमाले जस्तै नेपाली कांग्रेस पनि सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको जानकारी समेत उहाँले दिनुभयो ।

ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न जरुरी रहेको बताउनु भयो । उहाँले एमाले अध्यक्ष एवं प्रधानमन्त्रीमाथि प्रचण्ड र माओवादी नेताहरुले लगाएको आरोप कुण्ठाग्रस्त भएको निश्कर्ष पनि राख्नुभयो ।

‘एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ । सरकारबाट बाहिरिन बाध्य भएपछिको यो छट्पटी हो’ बैठकमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एक सदस्यले भने, ‘यो परिस्थितिमा एमाले सचेततापूर्वक अघि बढ्छ ।’

यसैगरी बैठकमा उहाँले एमालेविरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिले घेराबन्दी गर्ने प्रयास भइरहेको जानकारी गराउनु भएको छ । घेरावन्दी चिर्न पार्टीले सन्तुलित ढंगले कदम चाल्ने र त्यही अनुसार काम गर्नुपर्ने निर्देशन पनि उहाँले पोलिटब्युरो सदस्यलाई दिनुभएको छ । बिहीबार सचिवालयको बैठकमा पनि ओलीले सरकार र एमालेलाई चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताउनु भएको थियो ।

नयाँ सरकार बनेसँगै मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको उहाँको भनाई छ । पोलिब्युरोमा ओलीले मिसन ०८४ मा एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन अहिलेदेखि तयारी गर्नुपर्ने बताउनु भयो । बैठकमा मुलुकमा अराजकता फैलाउने प्रयास भइरहेको र त्यसको कारणबारे पनि छलफल भएको थियो ।

त्यस्तै प्राकृतिक विपद्ले सर्वसाधारणले पाएको सास्ती र उनीहरुलाई राहत, सुरक्षाबारे पनि बैठकमा प्रस्ताव पेश भएको छ । बैठकले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण कार्ययोजना’ पेश भएको छ । पोलिटब्युरो सदस्यले सुझाव दिएपछि कार्ययोजना पारित हुने एमालेले जनाएको छ ।