जनता टाइम्स

१९ भाद्र २०८१, बुधबार १४:३५

प्रधानमन्त्री ओलीको प्रतिवद्धता : विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने अवस्था बनाउँछौं


काठमाडौं, भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने अवस्था बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औं सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

‘विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने बनाउँछौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ । बसाइँ सराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

प्रवासी नेपाली मञ्च र गैर आवासीय नेपाली संघ (एनआरएनए)सहित बिदेशमा रहेका प्रमुख संघ संस्थाहरुले आफू बसेको देश वा शहरबाटै मताधिकारको ब्इवस्था गर्नुपर्ने माग गरिरहेको बेला प्रधानमन्त्री ओलीबाट यो भनाई आएको हो ।

उदघाटन सारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बत गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको धारणा पनि राख्नुभयो । यसैगरी प्रधानमन्त्री ओलीले हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको बताउनु भयो ।

उहाँले बिगतमा भएको त्रुटी र कमजोरी सच्याएर मतदातालाई सही सूचनामार्फत सूसुचित गर्न जरुरी रहेको पनि प्रष्ट पार्नुभयो । सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जबाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जनताको मताधिकारको सम्मान हुने प्रधानमन्त्री ओलीको भनाई छ ।

यस्तै उहाँले फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने विश्वास ब्यक्त गर्नुभयो । आजबाट सुरु भएको सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा ः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाईसराई’ केन्द्रित भई छलफल हुनेछ ।

उदघाटनसत्रका अवसरमा उक्त मञ्चका अध्यक्ष भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ । सम्मेलनमा नेपाल, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन ।