जनता टाइम्स

१९ भाद्र २०८१, बुधबार १९:५५

एमाले बैठकमा अध्यक्ष ओलीले सुनाए कठोर निर्णय : नेता–कार्यकर्तालाई तोके दुईमध्ये एक बिकल्प रोज्नैपर्ने बटमलाइन


काठमाडौं, भदौ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कतिपय नेता कार्यकर्तामा चारित्रिक विचलन देखिएको भन्दै पार्टी छाड्न वा मोजमस्ती गर्नेमध्ये एक विकल्प दिनुभएको छ ।

एमाले पोलिटब्यूरो बैठक समापनको क्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । पोलिटब्यूरो बैठकमा अनुशासन आयोगका अध्यक्षसहित अन्य कतिपय नेताहरुले पार्टीभित्र अनुशासनहीन, नैतिकहीन र चरित्रहीन गतिविधि बढेको विषय उठेपछि अध्यक्ष ओलीले यस्तो विकल्प दिनुभएको हो ।

एमालेमा केही समययता नेताहरुमा बिचलन आएको आरोप लाग्दै आएको छ । सोही बिषयमा बैठकमा उठाइएपछि समापनको क्रममा अध्यक्ष ओली कठोर रुपमा प्रस्तुत हुनुभएको हो ।

‘अनुशासनहीन, नैतिकहीन र चरित्रहीन गतिविधि नियन्त्रणमा एमाले प्रष्ट छ । अव हाम्रा नेता–कार्यकर्ताले राजनीति गर्ने कि इन्जोय (मस्ती) गर्ने ? एउटा विकल्प रोज्नुपर्छ,’ बैठकमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै पोलिटब्यूरोका एक सदस्यले जनताटाइम्स डटकमसँग भने ।

ती सदस्यका अनुसार अध्यक्ष ओलीले जे गरे पनि छुट हुने परिपार्टी एमाले जस्तो अनुशासित पार्टीमा संभव नहुने प्रष्ट बटमलाइन समेत सुनाउनु भएको छ । ‘एमालेमा अनुशासनहीन र चरित्रहीन गतिविधिमा कसैलाई छुट छैन,’ बैठकमा अध्यक्ष ओलीको निर्देशन थियो ।

अध्यक्ष ओलीले एमाले पार्टी कुनै ढल नभएको बताउँदै चरित्रमा ध्यान दिन समेत नेताहरुलाई निर्देशन दिनुभएको थियो । पार्टीमा सैद्धान्तिक र वैचारिक विषयमा कुनै समस्या नरहेपनि व्यवहारमा ध्यान दिनुपर्ने अध्यक्ष ओलीको आशय रहेको ती नेताको भनाई छ । उहाँले पार्टीभित्र चरित्रहीन गतिविधि बढेको बारे भन्नुभयो, ‘यो पार्टी कुनै ढल होइन । कि राजनीति गर्नु कि मोजमस्ती गर्नाेस ।’

त्यस्तै, पार्टीले कुनै पनि प्रकारको भ्रष्टाचार नसहने स्पष्ट पारेको छ । भ्रष्टाचार नियन्त्रणमा निरन्तर लागिरहने उहाँले बताउनु भयो । बैठकले निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णयसमेत लिएको छ । आफ्नो नीति तथा कार्यक्रमका आधारमा हिजो पनि एक्लै लडेको र भोलि पनि लड्ने निर्णय भएको हो ।

प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतकका अनुसार बैठकले तत्काल कुनै पनि पार्टीसँग वामपन्थी एकता नहुने पनि अध्यक्ष ओलीले स्पष्ट पार्नुभएको छ । ‘बामपन्थीका नाममा अहिले कुनैपनि एकता हुने सम्भावना छैन,’ बैठकमा अध्यक्ष ओलीको भनाई थियो ।

वस्तुगत मूल्यांकनका आधारमा विभिन्न कार्यहरु अगाडि बढ्दै जाने निर्णय भएको गौतमले बताउनु भयो । बैठकले विभिन्न १५ वटा समसामयिक प्रस्तावहरु पारित गरेको छ ।