जनता टाइम्स

२० भाद्र २०८१, बिहीबार १५:४१

एमाले महासचिव शंकर पोखरेलको ठोकुवा : सत्ताबाहिर पुगेपछि प्रचण्ड अराजक र अतिवादी राजनीतिमा उत्रिए


सुर्खेत, भदौ २० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

प्रेस चौतारी कर्णालीले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले पूर्वप्रधानमन्त्री दाहालको असंसदीय र अराजक राजनीतिले सदनमा किचलो भइरहेको ठोकुवासमेत गर्नुभयो ।

‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ । प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशमा उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन,’ महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको पनि बताउनु भयो । ‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन । मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसदको जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ ।’

महासचिव पोखरेलले मुलुकको समृद्धिका लागि बलिया राजनीतिक शक्ति आवश्यक रहेकोतर्फ सवैको ध्यानाकर्षण गराउने काम गरिएको पनि उहाँको भनाई छ । ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो,’ महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी मात्रै रहेको बताउनु भयो । ‘कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ?’, पत्रकारको जिज्ञासा मेटदै पोखरेलले भन्नुभयो ।

उहाँले आगामी ८४ मा एमाले देशकै बलियो र राष्ट्रिय शक्तिका रुपमा स्थापित भएर छोड्ने ठोकुवा पनि गर्नुभयो । महासचिव पोखरेलले एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहको बिषयमा आएको समाचार गलत भएको भन्दै कथा रच्ने काम नगर्न सञ्चार क्षेत्रलाई सुझाउनु भयो ।