धनगढी, भदौ २४ । सहकारी ठगी प्रकरणमा जोडिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गर्नुभएको छ ।
धनगढी बिमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगबाट आएको स्वीकार गर्नुभएको हो । गोर्खा मिडियामा गलत ढंगले रकम आएको तर त्यसमा आफ्नो कुनै संलग्नता नभएको लामिछानेले जिकिर गर्नुभयो ।
‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको तथ्य स्थापित भइसकेको छ, यो स्थापित भएको कुरा नै हो,’ लामिछानेले भन्नुभयो । लामिछाने राजनीतिमा आउनुअघि सोही मिडियाका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । सोही प्रकरणमा उहाँले सहकारी छानविन संसदीय बिशेष समितिमा लगातार १० घण्टा बयान दिनुपरेको थियो । तर त्यसमा आफ्नो संलग्नता नभएको उनको दाबी छ ।
आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उहाँले जिकिर गर्नुभयो । ‘कसले बदमासी गर्यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको छ । त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्यो,’ लामिछानेले भन्नुभयो ।
संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास आफूमा रहेको पनि उहाँको भनाई छ । लाखौं मानिस सहकारीबाट पीडित रहेको भन्दै लामिछानेले थप्नुभयो, ‘मलाई आशा छ, यसले निकास दिन सक्ने छ ।’ लामिछानेले गोर्खा मिडियामा सहकारीको रकम गलत रुपमा आएको तथ्य पहिलो पटक स्वीकार गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्