काठमाडौं, भदौ २५ । नेकपा एमालेका स्थायी समिति सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको स्थापित बिधि र प्रकृयाभन्दा बाहिर काम नगर्न सवै जनसंगठनका अध्यक्षलाई निर्देशन दिनुभएको छ ।
यही भदौ २९ र ३० गते आयोजना गरिएको कार्यशालाको सन्दर्भमा प्रस्तुत प्रतिवेदनबारे सुझाव लिन आज बसेको संयन्त्रको बैठकमा संयोजक ढकालले यस्तो निर्देशन दिनुभएको हो ।
‘हाम्रो पार्टीको नियमावली र जनसंगठन समन्वय निर्देशिका छ । त्यसअनुसार चल्नोस, त्योभन्दा बाहिर जान नेताले दवाव दिएपनि नमान्नोस, बिभागहरुलाई सुँढ घुसाउन नदिनोस,’ बैठकमा संयोजक ढकालले भन्नुभयो, ‘नेता रिसाए नियमावली पढनोस भनिदिनोस । मैले थेग्नेजतिलाई मतिर देखाइदिनोस ।’
बैठकमा जनसंगठनका अध्यक्षहरुले निर्णय कार्यान्वयनमा नेताबाटै बाधा भइरहेको भन्दै अनावश्यक हस्तक्षेबारे धारणा मागेका थिए । सो बिषयमा जवाफ दिँदै ढकालले जनसंगठन सञ्चालनको प्रष्ट बिधि रहेको बताउनु भएको हो ।
बैठकले कार्यशालालाई सब्य र भब्य बनाउने गरी लाग्ने निर्णय गरेको छ । जनसंगठन समन्वय संयन्त्रले भदौ २९ र ३० गते स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला आयोजना गरेको छ ।
सो कार्यशालामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेलले बिशेष निर्देशन दिनुहुनेछ भने जनसंगठनका अध्यक्ष, महासचिव र महिला बिभाग प्रमुखको सहभागीता रहने छ ।
प्रतिक्रिया दिनुहोस्