जनता टाइम्स

३० भाद्र २०८१, आईतवार १२:३१

बन्द भए चितवनका इँटा उद्योग


चितवन, ३० भदौ । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् ।

उहाँले भन्नुभयो,‘गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।’ एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उहाँले हजारौ मजदुरको रोजिरोटी बन्द भएको र करोडौ रुपैयाँ उद्योगले नोक्सान बेहोरेको बताउनुभयो । चितवनको इँटा राम्रो इँटाको रुपमा चिनिन्थ्यो । चितवन र छिमेकी जिल्लामा यहाँको इँटा जाने गर्दथ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इँटा ल्याएर बिक्री वितरण गरिँदै आएको छ ।

सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिस्पर्धा हुनु, बाहिरबाट ल्याइएका कम गुणस्तरका इँटा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानीयले अवरोध गर्नुलगायतका कारण उद्योग बन्द हुन पुगेका हो । सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इँटा उद्योग सङ्घ चितवनका अध्यक्षसमेत रहनुभएका सापकोटा बताउनुहुन्छ । यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उहाँको भनाइ छ । जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रुपमा इँटा उद्योग सञ्चालनमा रहेका थिए ।