काठमाडौं, असोज १ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अझै राजनीतिक पार्टी बनिनसकेको ठोकुवा गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा माओवादीका मधेश प्रदेशमा रहेका प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरूलाई प्रेस चौतारी नेपालमा स्वागत गर्ने क्रममा महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
महासचिव पोखरेलले माओवादी एउटा आन्दोलन मात्र भएकोले अव बामपन्थी बिचार बोक्नेहरुको एउटा मात्रै पार्टी नेकपा एमाले भएको बताउनु भयो । ‘माओवादी पार्टी नै होइन, पार्टी बनेकै छैन, यो त एउटा आन्दोलन मात्र हो,’ महासचिव पोखरेलले भन्नुभयो ।
पोखरेलले नेकपा एमाले नेपाको सन्दर्भमा मात्र नभएर एसियाकै सन्दर्भमा सुदृढ पार्टी भएको पनि उहाँले प्रष्ट पार्नुभयो । परिणामका हिसाबले कहिले सफलता कहिले असफलता एउटा पक्ष भए पनि पार्टीका हिसाबले एमालेको जत्तिको सामर्थ्य राख्ने पार्टी बिरलै भएको पोखरेलले बताउनुभयो । त्यसैले नेकपा एमालेलाई कमजोर पार्ने प्रयत्न बारम्बार हुने गरेको उहाँले सुनाउनुभयो ।
उत्साहका साथ नेकपा बनाइएको भए पनि पुष्पकमल दाहाल एकताको लागि नआएको कारण नेकपा फुटेको पोखरेलले बताउनुभयो । प्रचण्ड शक्तिमा रहेकाहरुको प्रयोगका लागि मात्र आएको कारण त्यस्तो स्थिति बनेको पोखरेलका निष्कर्ष छ । एमाले नेतृत्वले निकै ठूलो मेहनतका साथ पार्टी एकता गरेको तर प्रचण्डको सहकार्य गर्ने अनिच्छाका कारणले नेकपा एकता असफल बनेको निश्कर्ष पनि उहाँले सुनाउनु भयो ।
‘प्रचण्ड सहकार्य गर्ने मान्छे नै होइनन, आदेश दिने मान्छे मात्रै हो, आदेशले मात्र राजनीति चल्दैन, विधि, पद्धति, योजना र सामूहिकताको आवश्यकता पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो । शक्ति केन्द्रले साथ दिएको कारण प्रचण्डको आफ्नो ब्यक्तिगत राजनीति सफल भएको तर माओवादी पार्टी समाप्तीको बिन्दुमा रहेको पोखरेलको विश्लेषण छ । ‘उनीहरूको साथ नभएको भए उनको अवस्था हेर्न लायकको हुन्थ्यो’, उहाँले भन्नुभयो ।
पोखरेलले अबको राजनीति प्रचण्डको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । २०८४ सालको निर्वाचनमा माओवादी राष्ट्रिय दलसम्म बन्न सक्ने भए पनि त्यस पछि राष्ट्रिय मान्यता प्राप्त दल पनि नबन्ने उहाँको ठम्याई छ । यो माओवादी प्रतिको अपमान नभई सम्मान नै गरेको उहाँले बताउनुभयो । ‘औचित्य सकिएको पार्टी राष्ट्रिय पार्टी हुन्छ भन्नु उसको विगतको भूमिको सम्मानै गरेको हो भन्ने बुझ्नु पर्दछ, भविष्यको आँखाबाट हेर्ने हो भने अब माओवादी भई रहनुको औचित्य छैन’, उहाँले भन्नुभयो ।
अब वामपन्थी जनमतलाई एमाले वरिपरि र बुर्जुवा जनमत कांग्रेसको वरिपरि केन्द्रीकृत हुने पोखरेलले बताउनुभयो । नेपालको राजनीति अब दुई ध्रुवमा ध्रुवीकृत हुने पोखरेलले बताउनु भयो । साना राजनीतिक पार्टीका कारण देशमा अस्थिरता बढेकोले देशका ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएका पोखरेलले बताउनुभयो ।
यसको सबैभन्दा बढी छटपटी माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई भएको पनि पोखरेलले बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बाम तथा प्रगतिशील र राष्ट्रवादी बिचार राख्ने पत्रकारको साझा घर प्रेस चौतारी नै भएको बताउनु भयो । उहाँले सही समयमा सही निर्णय गरेको भन्दै संगठनमा उचित जिम्मेवारी पाउने कुरामा कुनै शंका नगर्न पनि नवप्रवेसी नेताहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्