जनता टाइम्स

५ आश्विन २०८१, शनिबार १३:४२

एमाले महासचिव पोखरेलको निश्कर्ष : रवि लामिछाने सहकारी ठग भएको तथ्यलाई अव कुनै तर्कले पनि छोप्न सकिन्न


दाङ, असोज ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको तथ्यलाई अव कुनै तर्कले पनि छोप्न नसकिने प्रष्ट पार्नुभएको छ ।

प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले गोरर्खा मिडियाका साझेदार भएकोले त्यसले गरेको सहकारी ठगीको घटनाबाट रबि लामिछाने उम्किन नसक्ने र नमिल्ने बताउनु भयो ।

गोरखा मिडिया प्रालिमा रविले बिनालगानी १५ प्रतिशत शेयर भएको स्वीकार गर्नु नै भ्रष्टाचार भएको महासचिव पोखरेलको ठहर छ । लगानीबिना शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना नै नगरेको एमाले महासचिव पोखरेलले बताउनु भयो ।

‘रबि लामिछाने बिना लगानीको साझेदार बन्नुभएको । त्यही काम अन्य राजनीतिज्ञले गरे भने के भन्नुहुन्छ ? आफूले लगानी नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने कुरा आफैँमा अनैतिक र भ्रष्टाचार हो,’ प्रेस चौतारी दाङका अध्यक्ष प्रेम राम्जा मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो ।

बिन लगानी साझेदारी प्राप्त गर्ने कुरा अनैतिक कुरा भएको उहाँले बताउनु भयो । ‘म असाधारण क्षमताको मान्छे मलाई सित्तैँमा दिए, मैले लिइदिएँ भन्ने कुरा कानुनले मान्दैन,’ पोखरेलले भन्नुभयो । सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर लामिछानेले अनुचित काम गरेको पनि उहाँले बताउनु भयो ।

‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानुनी हो, रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन,’ उहाँले भन्नुभयो । सहकारी प्रकरणमा रवि लामिछानेले गरेको काम भ्रष्टाचारजन्य काम नै भएको उहाँले बताउनु भयो ।