जनता टाइम्स

५ आश्विन २०८१, शनिबार १७:३३

ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन : सञ्चारमन्त्री गुरुङ


लमजुङ, असोज ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउन नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको प्रष्ट पार्नुभएको छ ।

लमजुङको बेँसीसहर नगरपालिका– ७ मा आजबाट सुरु भएको एमाले लमजुङको तेस्रो बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिवसमेत रहनुभएका मन्त्री गुरुङले यस्तो बताउनु भएको हो ।

उहाँले देशलाई विकासको बाटोमा अघि बढाउन दुई ठूला दल मिलेर सरकार बनाएको बताउनु भयो । मुलुक आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुग्न नदिन दुवै ठूला दल जिम्मेवार बनेर सरकार बनाउनु परेको उहाँको भनाई छ ।

‘वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ’, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्छ । सविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था छ ।’

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषतामा परिवर्तन नहुने प्रष्ट पार्नुभयो ।

‘खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो । यस्तै उहाँले जिल्ला समन्वय समिति खारेजी पालिकाहरूको संख्या घटाउनु पर्ने आफ्नो मत रहेको जानकारी दिनुभयो ।