जनता टाइम्स

५ आश्विन २०८१, शनिबार २०:३२

त्यसपछि मात्रै मैले पालो पाउने भएँ : बिद्या भण्डारी


काठमाडौं, असोज ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २०८४ को निर्वाचनबाट सवै तहमा स्पष्ट बहुमतसहित नेकपा एमाले निर्णायक शक्ति बन्नुपर्ने निश्कर्ष सुनाउनु भएको छ । मदन भण्डारी फाउण्डेसले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

‘अव हुने ०८४ को चुनावपछि एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष जस्ता सम्माननीय सबै पद पाओस भन्ने मेरो शुभकामना छ,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले सो निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्ने पनि बताउनु भयो । ‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस । मेरो तर्फबाट धेरै–धेरै शुभकामना छ । यस्तो बनाउनुुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस । मेरो यो मदन भण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो ’, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

उहाँले एमालेको सदस्य भएर नै आफू नेपालको पहिलो महिला राष्ट्रपति भएको भन्दै अब एमालेले अर्को राष्ट्रपति पनि बनाउनु पर्ने प्रष्ट बटमलाइन सुनाउनु भयो ।

‘नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो । मबाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रमहरु पार्टीका नेताहरु जानुहुन्छ’, भण्डारीले भन्नुभयो, ‘सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस । त्यो भएपछि मात्रै मैले पालो पाउने भएँ,’ भण्डारीले भन्नुभयो ।

उहाँले फाउण्डेशनलाई पनि मदनको बिचार सवै माझ पुर्याउँदै उहाँको सपना साकार पार्ने काममा एकजुट बन्ने सुझाव दिनुभएको थियो ।