दसैं, तिहार र छठ पर्वमा काठमाडौंमा मात्रै ३ हजार ७ सय ६५ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । योजनानुसार घटना भएको ५ मिनेटमा पुग्ने र ३० मिनेटमा प्रतिकार्य पूरा गरिने काठमाडौं प्रहरी प्रमुख एसएसपी बशन्त राजैरेले बताउनु भयो ।
काठमाडौं, असोज ११ । काठमाडौं प्रहरीले दसैं तिहारलगायत चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी अपराधरहित पर्व बनाउनका लागि चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।
सुरक्षा योजनामा चाडपर्वमा हुनसक्ने चोरी, डकैतीलगायतका आपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गरी प्रहरी परिचालन गर्ने कार्ययोजना छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेका अनुसार चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चुनौतीहरू पहिचान गरिएको छ ।
एसएसपी रजैरेले सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुने बताउनु भयो । सुरक्षकर्मीको सहज पहुँच, अपराध न्यूनीकरणका साथै स्रोत साधनको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राखिएको जानकारी पनि एसएसपी रजौरेले दिनुभयो । एसएसपी रजौरेका अनुसार एरिया विभाजन गरी १४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को नेतृत्वमा बनाइएको र एउटा टोलीमा कम्तीमा १० जना रहने गरी परिचालन गरिने छ ।
तत्कालै घटनास्थल पुग्न ७६ वटा मोटरसाइकलमा प्रहरी परिचालन
सुरक्षा योजनाअनुसार काठमाडौँ प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने छ । अनुसन्धानमा आवश्यक सामग्रीले सुसज्जित ७६ वटा ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताउनु भयो ।
‘घटनाको सूचना पाएपछि सबैभन्दा पहिले पुग्ने क्यूआरटी टोलीसँग भएको क्यामेराले खिच्ने गतिविधि कन्ट्रोल रुमबाट मनिटर गर्न सकिन्छ,’ एसपी अधिकारीले भन्नुभयो । सुरक्षा योजना अन्तर्गत चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्ने गरी कार्ययोजना बनाइएको छ । यस्तै सवारी गस्तीमा इ–क्युआरटी ७६ र २४ वटा मोवाइल गस्ती परिचालन हुने छन । त्यस्तै सादा पोशाकमा ३८ वटा टोली खटिने छन ।
काठमाडौं जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पट्रोल र १ दिने सर्ट रुट पट्रोल गरिने एसपी अधिकारीले जानकारी दिनुभयो । काठमाडौं प्रहरीले घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा प्रतिकार्य पूरा गर्ने बताएको छ ।
दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्ने
काठमाडौं प्रहरी एसएसपी रजौरेले दसैँ, तिहार र छठमा सुरक्षा प्रदान गर्नुपर्ने सम्भावित क्षेत्रमा खसी बजारदेखि टिकट काउण्टर सम्मको क्षेत्रमा सुरक्षा चुनौती हुने विश्लेषण गरी सोहीअनुसारको योजना बनाइएको बताउनु भयो ।
यस्तै एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको उहाँको भनाई छ । ‘काठमाडौँ बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा सुरक्षा प्रदान गर्नुपर्ने सुरक्षा विश्लेषण छ,’ एसएसपी रजौरेले भन्नुभयो ।
प्रहरीले स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरूमा लुटपाट हुनसक्ने र पसलहरूमा भिडभाड भएर किनबेचमा असुविधा हुनसक्ने आँकलन गर्दै त्यस्ता ठाउँमा थप प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्