बाजूरा, असोज १२ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश विकास र समृद्धिका लागि काँग्रेस र नेकपा एमाले बीच सत्ता सहकार्य गरिएको बताउनु भएको छ ।
लामो समय सरकार बनाउने र गिराउने खेलमा सकिँदा विकास र समृद्धिको एजेण्डा नै धरापमा परेपछि मुलकमा उत्पन्न संकट समाधान गर्न दुई ठूला पार्टी मिल्नुपरेको तथ्य पनि उपमहासचिव ज्ञवालीले राख्नुभयो ।
प्रेस चौतारी बाजुराले मार्तडीमा शनिवार गरेको पत्रकार भेटघाटमा ज्ञवालीले जनताको चाहना र समयको माग अनुसार नै काँग्रेस एमालेबीच सहकार्य भएको प्रष्ट पार्नुभयो। मुलक राजनीतिक र आर्थिक संकटमा परिरहेका बेला, दलहरु सत्ताकै खेलमा अल्झिनु देश र जनता दुबैका लागि दुर्भाग्य हुने निष्कर्षसहितको सहकार्य भएकाले आशंक नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
गरिव राष्ट्रका लागि अस्थीरता अभिषाप नै बन्ने गरेकोले वर्तमान काँग्रेस एमाले सहकार्यले संकट समाधान हुने र जनतामा दलहरुबीच देखिएको निराशा समेत हट्ने विश्वास उहाँको छ । देशमा ठूला राजनीतिक परिवर्तन गर्न र संकट समाधान गर्न काँग्रेस र एमालेबीचको सहकार्य विगतकै निरन्तरता भएकोले सत्ता स्वार्थको गलत अर्थमा नबुझ्न ज्ञवालीले आग्रह गर्नुभयो ।
ज्ञवालीले राजनीतिक स्थायीत्वका लागि संविधान संसोधन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । संविधान गतिशिल हुन्छ, संविधानलाई समय अनुकुल बनाइनु पर्छ । त्यसैले सबै दलहरुबीचको आपसी सहकार्य र सहमतिमा संविधान संसोधन गरिन्छ । त्यसमा कसैले आशंका नगर्नाेस, ज्ञवालीले भन्नुभयो । उहाँले संविधान संसोधनले कसैलाई निषेध र कसैलाई मालामाल हुने होइन भन्दै राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै सबैको हित र पक्षमा हुने गरी संशोधन गरिनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
काँग्रेस एमाले सहकार्यले मुलुकमा आशाको सञ्चार भएको दाबी ज्ञवालीको निश्कर्ष छ । व्यापारी उत्साहीत छन । सेयर बजार लगातार उकालो छ । अस्थीरता अन्त्य हुनेमा जनता आशावादी छन । ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्ने सफल भएको छ । सुरुवाती यिनै विषयले पनि कांग्रेस र एमाले सहकार्यको सकारात्मक सन्देश प्रवाह भएको देख्न सकिन्छ, ज्ञवालीले भन्नुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा रुपमा प्रस्तुत हुनुभएका ज्ञवालीले मुलकलाई पछाडि धकल्ने र राजनीतिक अस्थीरतालाई प्रश्रय दिने काम प्रचण्डले गरेको ठोकुवा गर्नुभयो । जादुमयी अंकको आड देखाएर प्रचण्डले नेपाली जनता र लोकतन्त्रमाथि नै खेलवाड गरेको ज्ञवालीको भनाई छ । प्रचण्डको अनियन्त्रित बोली लोकतन्त्र, विधिको शासन र वर्तमान संविधान विपरित रहेको ज्ञवालीले बताउनु भयो । ‘प्रचण्डको बंगलादेश बनाउने, आँधी ल्याउने, अथलपुथल गर्ने अभिव्यक्ति सत्ता गुमाउँदाको आक्रोशबाहेक केही होइन, उहाँको धम्कीलाई जनताले राम्रोसँग बुझिसकेका छन,’ ज्ञवालीले भन्नुभयो ।
उहाँले सहकारी प्रकरणमा जोडिएका सबैको निष्पक्ष र कानुन संवत अनुसन्धान गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको पनि प्रष्ट पार्नुभयो । संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंक नगर्न आग्रह गर्दै ज्ञवाली स्वतन्त्र भनिएका पार्टीहरुले कानुनकै ध्वज्जी उडाएको बताउनु भयो ।
काँग्रेस, एमाले र माओवादीले नेताहरुमाथि अनुसन्धान हुँदा कारवाही हुँदा सहयोग गरेको उदारण दिँदै ज्ञवालीले गलत कुरामा पनि समर्थन गर्न र आन्दोलनको धम्की दिने कार्य लोकतन्त्र र विधीको शासनविरुद्ध भएकोले जनताको साथ नरहने प्रष्ट पार्नुभयो । उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण हालसम्मकै सफल र उपलब्धी मुलक बनेको बताउनु भयो । नेपाललाई अन्तर्राष्ट्रिय समुदायले सुन्ने र चिन्ने ठाउँमा पुर्याउन भ्रमण सफल रहेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले बाजुराले विकासमा केही फड्को मारेपनि अझै राज्यको ध्यान सिंगो सुदूरपश्चिममै पुग्नु पर्नेमा जोड दिनुभएको छ । सेती लोकमार्ग निर्माणलाई गति दिन सरकारले उचित बजेट व्यवस्थापनका लागि आफ्नो सदैव पहल रहेको र एमालेको हृदयमा बाजुरासहितका जिल्लाहरु बसेको उहाँले बताउनु भयो । भारत आश्रित समुदायलाई पर्यटनको माध्यमबाट जीवनस्तर सुधारका गतिविधी गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
पत्रकार भेटघाटमा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, राजेन्द्र रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओलीसहितका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव रमित विकले गरेका हुन् । नेकपा एमाले बाजुराले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागि हुन ज्ञवाली बाजुरा आएका हुन् । ज्ञवाली सहीतका नेताहरुले एमाले जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिने छन् ।
प्रतिक्रिया दिनुहोस्