जनता टाइम्स

३० आश्विन २०७६, बिहीबार २२:०७

बिष्णु पौडेलको निश्कर्ष : छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भयो ओली सरकार


बुटवल, असोज ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताउनुभएको छ । उहाँले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताउनुभयो ।

रुपन्देही उद्योग सङ्घको ४१औँ साधारणसभा तथा २१औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारले नेपाल र नेपालीको हित तथा नेपालको विकासमा चीन र भारतको दह्रो साथ समर्थन जुटाएको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपतिको गृह नगर सियान शहर र बुटवल उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्ध र चीनसँगको सम्बन्धले बुटवलको विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो । महासचिव पौडेलले निजी क्षेत्रको सहकार्य र लगानीबिना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै उहाँले उत्साहका साथ ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

महासचिव पौडेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि सरकार लागि परेको र देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन निजी क्षेत्रलाई सरकारले अभिपे्ररित गर्ने बताउनुभयो । उहाँले हरेक वर्ष जोखिमपूर्ण बनेको बुटवल–पाल्पाको सिद्वबाबाको सडकलाई सुरक्षित बनाउन सुरुङ मार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै चालू आवमा नै सुरुङ मार्गको काम शुरु हुने जानकारी दिनुभयो । बहुचर्चित कालीगण्डकी तीनाउ डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम भइरहेको बताउँदै उहाँले यस सम्बन्धमा देखिएका सबैखाले समस्या समाधान गरेर काम अघि बढाइने स्पष्ट पार्नुभयो ।

रुपन्देहीलाई व्यवस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अगाडि बढाउन खोजिएको बताउँदै नेता पौडेलले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यवस्थित औद्योगिक क्षेत्र बनाइने आश्वासन दिनुभयो । कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा लगानी मैत्री बाताबरण बनेकाले लगानी गर्न उद्योगि व्यवसायीलाई आह्वान गर्नुभयो । उहाँले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भए पनि अधिकार कार्यान्वयनका लागि आर्थिक समृद्धि आवश्यक रहेको र आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्ति गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । सो अवसरमा सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक विकासका लागि निजी क्षेत्रबाट प्रयास भए पनि औद्योगिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । यस्तै नेता पौडेलले आजै बुटवलमा एक अर्को कार्यक्रममा पाल्पा–नुवाकोट पुस्तकको लोकापर्ण गर्नुभयो । पाल्पाको ऐतिहासिक नुवाकोटगढीको ऐतिहासिकता झल्काउने उद्देश्यले इतिहासकार निर्मल श्रेष्ठले लेख्नुभएको पुस्तकको महासचिव पौडेलले लोकार्पण गर्नुभएको हो ।

उक्त पुस्तकमा नुवाकोटगढीको ऐतिहासिक एवम पाल्पाको प्राचीन चिनारीलाई समावेश गरिएको लेखक श्रेष्ठले जानकारी गराउनुभयो । लोकापर्ण कार्यक्रममा बोल्दै महासचिव पौडेलले नुवाकोट र जितगढिको धेरै महत्व रहेको बताउनुभयो । उहाँले नुवाकोटगढीले विरताको र स्वधानिताको गहकिलो पाठ अहिले सिकाएको बताउनुभयो । उक्त पुस्तकमाथि प्रा डा सूर्यबहादुर जिसी र प्रगतिशिल लेखक सङ्घ रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङले टिप्पणी गर्नुभएको थियो । नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोटको समग्र विकासको थालनी भएको बताउनुभयो ।