जनता टाइम्स

१८ आश्विन २०८१, शुक्रबार २३:४५

हनी ट्रयापिङमा इन्सपेक्टर नै संलग्न, गृह मन्त्रालयले गर्यो निलम्बन


काठमाडौं, असोज १८ । हनी ट्रयापिङ गर्ने गिरोहसँग मिलेर पैसा असुलेको अभियोगमा छानबिनमा रहेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही निलम्बनमा परेकी छन । इन्सपेक्टर शाहीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो ।

प्रहरी प्रभाग भैँसेपाटीको प्रमुख रहँदा इन्स्पेक्टर शाहीले एक ब्यवसायीलाई बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख असुली गरेको पाइएपछि निलम्बन गरिएको हो । इन्सपेक्टर शाहीले गत असोज ७ गते एक व्यवसायीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको प्रारम्भिक छानबिनमा खुलेपछि उनलाई त्यहाँबाट हटाएर निलम्बन सिफारिस भएको थियो ।

घटनामा संलग्न तीन जनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले थुनामा राखी अनुसन्धान गरिरहेको छ । प्रहरीको भूमिकाबारे डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन भइरहेको छ ।
छानबिन प्रतिवेदनका आधारमा इन्स्पेक्टरलाई प्रतिवादी बनाउने–नबनाउने तय हुने ललितपुर परिसरले जनाएको छ । यता सो घट्नामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी निवासी भीमादेवी थापा रहेकी छन । थापालाई विहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो । उनीहरुले ती ब्यवसायीलाई भैंसेपाटी प्रभागको हिरासतमा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुली गरेको र त्यो पैसा थापाको खातामा जम्मा गरिएको खुलेको छ ।

घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको पनि प्रहरीले जनाएको छ । यता अनुसन्धानमा इन्सपेक्टर शाहीकै योजनामा व्यवसायीलाई बलात्कारको मुद्दा चलाउने धम्की दिएर पैसा असुल गरिएको खुलेको छ । ललितपुर प्रहरीले शाहीको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी नियन्त्रणमा रहेका युवा ताज स्लामको मोबाइल (आइफोन १४ प्रो म्यास) भने गायब छ । प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर शाहीले नै ताजको मोबाइल गायब पारेकी हुन । अनुसन्धानले खोलेको तथ्यअनुसार ‘हनी ट्रयाप’को योजना इटहरीबाट सुरु भएको देखिएको छ । इलाका प्रहरी कार्यालय इटहरीलाई प्रयोग गरी रकम असुल्ने योजना असफल भएपछि भैँसेपाटी प्रहरी प्रयोग भएको खुलेको छ ।

प्रहरीका अनुसार ललितपुरका ती व्यवसायी केही समयअघि करिव ५ करोड पर्ने ल्याण्ड रोभर प्राडो लिएर इटहरी पुगेका थिए । त्यही बेला हाल ललितपुर प्रहरीको थुनामा रहेकी सुस्मा विकसँग इटहरी र इलाम घुमफिर गरे र होटेलमा सँगै बसे । त्यसपछि युवा ललितपुर फर्किए । सुस्माले पैसावाला पाटी जालमा परेको भन्दै आफू निकट युवा (दाजु जस्तो मिल्ने) दर्शन पोखरेललाई सुनाईन ।

दर्शन र सुस्माबीच व्यवसायीबाट रकम असुल्ने योजना बन्यो । योजना फत्ते गर्न उनीहरु इलाका प्रहरी कार्यालय इटहरी समेत पुगे । तर, सोचेजस्तो भएन । त्यसपछि दर्शनले पूरानो चिनजान रहेका ताजसँग यो कुरा सुनाए । त्यसपछि ताजले भैँसेपाटी प्रहरी प्रयोग गर्ने योजना वनाए । इन्स्पेक्टर शाही र ताजबीच नजिकको सम्बन्ध थियो । व्यवसायीबाट असुल हुने पैसामध्ये ५० प्रतिशत शाहीले लिने निधो भयो । योजनाअनुसार दर्शन र सुस्मा इटहरीबाट काठमाडौं पुगेर गौशालाको एक होटलमा बसेका थिए ।

असोजको पहिलो साता उनीहरु भैँसेपाटी पुगे । सुस्माले भेट्न बोलाएपछि व्यवसायी भैँसेपाटी पुगे । त्यही बेला ल्यान्ड रोभर प्राण्डोसहित कार्यायलभित्र लगेर इन्स्पेक्टर शाहीले ब्यवसायीलाई ‘बलात्कारको उजुरी आएको छ’ भन्दै धम्की दिएकी थिइन । सुस्मा र ताज पनि सँगै थिए । त्यसपछि मुद्दा नचलाउने सर्तमा ६० लाखबाट पैसाको वार्गेनिङ भएको पाइएको छ ।

३० लाखमा सहमति भएपछि व्यवसायीले तत्कालै ७ लाख रुपैयाँ दर्शनको खातामा ट्रान्सफर गरे र गाडी बेचेर बाँकी पैसा दुईदिनभित्र दिने कबोल गरेका थिए । नभन्दै गाडी बेचेर उनले बाँकी १३ लाख बैंकमार्फत र १० लाखको चेक काटेर दिएको अनुसन्धानले देखाएको छ । व्यवसायीका एक जना साथीले ललितपुर प्रहरीमा जानकारी गराएपछि इन्सपेक्टर शाहीको योजनामा भएको बदमासी बाहिर आएको हो ।