जनता टाइम्स

२५ आश्विन २०८१, शुक्रबार ०९:१३

दोलखाली चेली दावाले बढाइन जिल्लाकै शान, ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी बनाइन नयाँ किर्तीमान


दोलखा, असोज २५ । दोलखाको गौरीशंकर हिमालको काखमा अवस्थित सुन्दर पर्यटकीय स्लथ ना गाउँकी दावा याङ्जुम शेर्पाले ३३ बर्षको उमेरमै बिश्व किर्तीमान कायम गर्नुभएको छ ।

गौरीशंकर गाउँपालिका ९ मा पर्ने ना गाउँकी दावाले विश्वकै अग्लो शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको किर्तीमान बनाउनु भएको हो । विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुनुहुन्छ । उहाँले १४ वर्षअघि यो रेकर्ड बनाउनु भएको थियो ।

सुन्दर हिमाली जिल्ला दोलखाको ४ हजार २ सय मिटर उचाईमा पर्ने ना गाउँमा जन्मनु भएकी शेर्पाले यही बुधबार तिब्बतमा पर्ने विश्वको १४ औं अग्लो हिमाल सिसापाङ्मा सफलतापुर्वक आरोहण गर्नुभएको छ ।

बुधबार बिहान नेपाली समयअनुसार ५ः३० बजे दावा याङ्जुमले सिसापाङ्मा आरोहण गरेर बिहीवार आधार शिविरमा आइपुग्नु भएको आरोहणको व्यवस्थापन गर्ने काठमाडौंस्थित क्लाइम्बलय ट्रेक्स एण्ड एक्सपिडीसनका प्रबन्धक निर्देशक दावा शेर्पाले बताउनु भएको छ ।

पहिलो महिला एशियाली माउन्टेन गाइड पनि रहनु भएकी दावा याङ्जुमले विश्वका ८ हजार अग्ला १४ मध्ये १३ वटामा हिमालमा अघिल्लो वर्षसम्म सफल आरोहण सकिसक्नु भएको छ । दावा इनटरनेश्नल फेडेरेशन अफ माउन्टेन गाइड (आईएफएमजीए) बाट सर्टिफाइड पहिलो नेपाली महिला गाइड पनि हुनुहुन्छ ।

पछिल्लो समय पछि पारिएका महिलाहरुलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा पनि दावा संलग्न रहनुभएको छ ।

दावाले हिमाल आरोहणमा एक दर्जन कीर्तिमान बनाइसक्नु भएको छ । १२ वर्षकै उमेरमा परिवारलाई नभनी दोलखा र खुम्बुको बीचमा पर्ने टासी लाप्चा पासमा पदयात्रामा निस्किएर पहिलोपटक आरोहणमा लाग्नुभएकी दावा सन २०१८ देखि विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोल्याक्स घडी ब्रान्डको दूतका रुपमा पनि आबद्ध हुनुहुन्छ ।

यी दुई ब्रान्डमार्फत संसारभर प्रचारप्रसारमा निस्किँदा दावा जलवायु परिवर्तन र महिलाका विषयमा पैरवी गर्दै आउनु भएको छ । दावाले रोलेक्सले दिने आर्थिक सहायता सामाजिक काममा खर्च गर्दै आउनु भएको छ । दावाले चार पटक सगरमाथामा आरोहण गरिसक्नु भएको छ ।