जनता टाइम्स

२५ आश्विन २०८१, शुक्रबार १७:०५

लोकतन्त्रमा राजनीतिक दलहरु बलिया भए मात्रै जनताले अधिकारलाई प्रयोग गर्नसक्ने स्थिति बन्दछ : शंकर पोखरेल


काठमाडौं, असोज २५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनु भएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका २ स्थित मैत्रीनगरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले लोकतन्त्रमा राजनीतिक दलहरु समाजका प्रतिनिधि संस्थाका रुपमा रहेकोले बलियो हुनुपर्ने प्रष्ट पार्नुभयो ।

राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकार प्रयोग गर्न सक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने महासचिव पोखरेलको भनाई थियो । ‘राजनीतिक दलहरु बलिया हुन सके भने मात्र लोकतन्त्र बलियो हुन्छ, राज्य बलियो हुन्छ, लोकतन्त्र र राज्य बलियो भयो भने मात्रै जनताले अधिकारलाई प्रयोग गर्न सक्ने स्थिति बन्दछ,’ एमाले महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले निर्माण अघि ढाइएको एमालेको कार्यालय आधुनिक हुने जानकारी पनि दिनुभयो । यस्तो भवन बनाउन जग्गा दान गरेकोमा महासचिव पोखरेलले भाटभटेनी सुपरमार्केटका सञ्चलक ब्यवसायी प्रमुख मीनबहादुर गुरुङ र उहाँकी श्रीमती सावित्री गुरुङलाई विशेष धन्यवाद दिनुभयो ।

एमाले केन्द्रीय कार्यालय भवन निर्माणका लागि मीनबहादुर दम्पत्तिले १० रोपनी १४ आना जग्गादान गर्नुभएको छ । सोही जग्गामा एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिशेष समारोहबीच केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।