काठमाडौं, असोज २६ । आज विजया दशमी अर्थात दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बडा दशैंको दिन आज दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः३६ बजे उत्तम साइत रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान ८ः३३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । दशैंमा वाचन गरिने आशीर्वादका मन्त्रहरू एवं श्लोकहरूभित्र पौराणिक इतिहास छ, भूगोल छ, भगवत् प्रेम छ । यस्ता विविध अर्थले निहित भएको प्रसिद्ध श्लोकहरू आयुद्रोण सूते…, जयन्ती मंगलाकाली…, सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके… आदि हुन ।
पूरा श्लोक यसप्रकार रहेका छन :
आयुद्रोण सूते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने, मानंच दुर्योधने ।।
सौर्यं शान्तनवे, बलं हलधरे, सत्यञ्च कुन्ती सुते।
विज्ञानं विदुरे भवन्तु भवतां, कीर्तिश्च नारायणे ।।
०००
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।
दुर्गा–क्षमा–शिवा–धात्री स्वाहा स्वधानमोऽस्तुते।।
०००
सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तुते ।।
०००
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोहस्ति धनधान्य समृद्धिरस्तु ।
ऐश्वर्यमस्तु विजयोऽस्तुरिपुक्षयोस्तु सन्तानवृद्धिसहिता हरिभक्तिरस्तु।।
००
मन्त्रार्थाः सफलाः सन्तुपूर्णाः सन्तु मनोरथाः।
शत्रूणां बुद्धिनाशोस्तुमित्राणामुदयस्तव।।
०००
श्रीवर्चस्वमायुष्यमारोग्यभाभिधात् पवमानं महियते।
धनं धान्यं पशं बहुपुत्रलाभं शतसम्बत्सरं दीर्घमायुः।।
०००
आव्याधिना शरीरेणमनसा च निराधिना।
पूरयन्र्थिनामाशास्त्वं जीव शरदां शतम्।
आयुद्रोर्णसुते आदि श्लोकहरूको अर्थ यस प्रकार छ : टीका लगाइदिने मान्यजनले टीका ग्रहण गर्ने पुत्र, पुत्रवधू आदिलाई आशीर्वाद दिँदा द्रोणाचार्यपुत्र अश्वत्थामाको जस्तो आयु होस्। गरगहना, चल–अचल, लौकिक सम्पत्तिमा दशरथको जस्तो वैभव शत्रु दमनमा श्रीरामचन्द्रको जस्तो क्षमता, पारलौकिक धर्मादि आर्जनलाई ऐश्वर्य भनिन्छ।
त्यस प्रकारको (ईश्वरस्य भावः) आर्जनमा नहुषको जस्तो आर्जन क्षमता, गतिमा पवन अर्थात् हावाको जस्तो तीव्र गति, मानमर्यादा दुर्योधनको जस्तो ओजस्वीपरक मानसम्मान, पराक्रममा शन्तनुपुत्र भीष्मको जस्तो, पराक्रम बलमा हली अर्थात् बलरामको जस्तो बल, सत्यनिष्ठामा युधिष्ठिरको जस्तो सत्यवादिता, धर्माधर्मको विचार ज्ञानमा विदुरको जस्तो ज्ञान र कीर्तिमा भगवान् नारायणको जस्तो स्थिर कीर्तिहोस भन्ने यस श्लोकको अर्थ भएकाले सन्ततिहरूलाई पनि यस्तै होस् भनी आशीर्वाद दिइने गरेको हो।
जयन्ती मंगलाकाली… को अर्थ यस प्रकार छ : जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधायी एघारवटी कामअनुसार नामका देवीहरूलाई मेरो नमस्कार छ ।
जयन्ती– उत्कृष्ट विजयशालिनी, मंगला– भक्तहरूलाई जन्म मरणबाट मुक्त गराउने मोक्षदायिनी, काली– प्रलयकालमा सबै आफूमा लीन गराउने, भद्रकाली– भक्तहरूलाई कल्याण एवं सुख दिने, कपालिनी– हातमा कपाल र गलामा मुण्डमाला लिएर भक्तहरूलाई कल्याण गर्ने, दुर्गा– भक्तको दुःख कष्ट हरण गर्ने विविध गुणयुक्त देवी, क्षमा– भक्तका नकारात्मक सोचरूपी अपराधलाई सहन गरी सकारात्मक सोच विकास गर्ने, यिनले क्षमा दिई विश्व कल्याण गर्छिन्।
विजयादशमी पर्व दैवी शक्ति सञ्चयको पर्व हो। यसले पितृपक्षमा पितृहरूको आदर गरी पितृहरूलाई सन्तुष्ट बनाएर त्यसपछि महत्तवपूर्ण पर्व दसैंलाई स्वीकार गरेको पर्वका रूपमा दसैं पर्वलाई लिइन्छ । यस पर्वले देवीदेवता, कुलपितृ र मान्यजनबाट आशीर्वाद लिई राष्ट्र एवं राष्ट्रवासी जनतालाई तथा आफू स्वयंको सबलताका लागि देवीको आराधना गर्न अभिप्रेरित गर्दछ ।
शिवा– सबैको कल्याणमात्र गर्ने देवी, धात्री– सबै प्रपञ्चहरूलाई धारण गर्ने भक्तको सुःखदुःखको ख्याल गर्ने देवी, स्वाहा– यज्ञादिमा स्वाहा भनेर दिइएको आहुति ती ती देवताहरूमा पु¥याएर देवीदेवताको पोषण गर्ने देवी, स्वधा– स्वधानामकी देवीले पितृहरूलाई कव्य पु¥याएर पितृहरूको पोषण गर्ने देवी। यी सबै देवीहरूलाई मेरो नमस्कार छ भनी आशीर्वाद दिँदै विशेष गरेर मातृशक्तिलाई यो मन्त्र पढी आशीर्वाद दिइन्छ । यद्यपि जयन्ती मंगलाकाली वा आयुद्र्राेणसुते यी दुवै मन्त्र आशीर्वाद प्रधान भएकाले नारी–पुरुष दुवैमा प्रयोग गर्न मिल्छ । कार्य र गुणका दृष्टिले भने जयन्ती मंगलाकाली नारी जातिमा र आयुद्र्राेणसुते पुरुष जातिका लागि उपयुक्त नै देखिन्छन ।
आशीर्वाद छोराछोरी, बुहारी, नातिनातिना, ज्वाइँचेला, भाञ्जाभाञ्जी सबैमा समान रूपमा नै दिइन्छ। पुरुषार्थी सन्तान बनून् भन्ने कामना सबै परिवारमा वरावर गरिन्छ। आशीर्वादमा विभेद हँुदैन। मान्यजनबाट यो आशीर्वाद सललल नदीजस्तै बगिरहन्छ ।
सर्वमंगलमांगल्ये… को अर्थ : सबै प्रकारको मंगल प्रदान गर्ने, कल्याण दिने, सबै पुरुषार्थ सिद्ध गर्ने, शरणमा आएकाहरूलाई सबैतिरबाट शरण दिने रक्षा गर्ने तीन नेत्रवाली एवं गौरी स्वरूपा नारायणी भगवती हजुरलाई मेरो नमस्कार छ भनी यो श्लोक पढेर आशीर्वाद दिइन्छ । श्रीसम्पत्ति धनधान्य पुत्रपौत्र आदिको कामनापूर्ति गर्दै सय वर्षसम्मको चिरायुको कामना यस श्रीवर्चस्वमायुव्यमारोग्यमाभिधात्… यस श्लोकले गरेको हुनाले मान्यजनबाट सन्ततिलाई टीका लगाउँदा यस मन्त्रको प्रयोग गरिएको हो ।
स्वस्त्यस्तु ते कुशलमस्तु… को भाव यस प्रकार छ : घरपरिवार र इष्टमित्रजनमा स्वस्ति, कल्याण, आयु वृद्धि होस भन्नुका साथै गोधन अर्थात् गाई, हात्ती, घोडा आदिको वृद्धि हुँदै जाओस, शत्रुहरू नास होऊन् र सन्तान बढ्दै जाऊन, हाम्रा परिवारका सबै सदस्यको भगवान् हरिमा अटुट भक्ति सदासर्वदा लागि रहोस ।
मन्त्रार्थाः सफलाः सन्तु… को भाव यस प्रकार छ : वेद, रुद्री, चण्डीमा पढिएका मन्त्रहरूका अर्थहरू, उच्चारणहरू सफल होऊन्। हाम्रा मनले चिताएका कुराहरू पूरा हुँदै जाऊन्। हाम्रा वैरीहरूको बुद्धि नाश होस्। मित्रहरूको आवागमन भइरहोस ।
अव्याधिना शरीरेण… को भाव यसप्रकार छ : रोगव्याधिरहित शरीर होस, मानसिक चिन्ता नपरोस । धनसम्पत्ति आदिको आश गर्नेहरूले त्यो पूरापूर पाइरहुन्। यी सबैले युक्त भएर सय वर्षसम्मको पूर्ण आयु बाँच्न सफल हुनुहोस ।
शरणगतदिनार्त… श्लोकको अर्थ यस प्रकार छ : शरणमा आएका दीनदुःखीहरूलाई सहजै स्वीकार गरी रक्षा गर्ने सबैको पीडा कष्टलाई हटाउने यस्ती नारायणी देवी हजुरलाई प्रणाम छ, नमस्कार छ ।
नेपाली परम्परामा नारीहरूलाई आशीर्वाद दिने श्लोक यस प्रकार रहेको पं देवीप्रसाद निरौला बताउनुहुन्छ :
हे देवी गजगामिनी शशीमुखी प्यारी पतिकी हुनू।
सिउँदो सिन्दूरले सुशोभित सधैं शौभाग्यशाली हुनू।।
ज्ञानीमानीधनी गुणी सूत हुँदा ती वीरमाता भनून।
जामाता पुरुषार्थी प्रेमीतनया आनन्दमा दिन बितून ।।१।।
नेपाली परम्परामा पुरुषलाई आशीर्वाद दिने श्लोक यस प्रकार रहेको छ :
लक्ष्मीले घरमा सधै अचल भै डेरा जमाई दिऊन्।
लक्ष्मीनाथ हरि मुकुन्द रघुनाथ मन्ले सधैं सम्झिऊन्।।
भक्तिका रसको प्रवाह बहँदा प्रेम्मा भुलेका हरि।
लैजाऊन् भवको यो जाल परिधि काटी सुमार्गै गरी।।२।।
प्रतिक्रिया दिनुहोस्